पोखराका सहकारी बचतकर्ताहरुले प्रदर्शन गर्दै भने : हाम्रो बचत अपचलन गर्नेलाई तत्काल पक्राउ गर


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित




पोखरा, १० वैशाख

पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पोखरामा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिवशिखर सहकारी, बलिदानी सहकारी, मित्रमिलन बचत तथा ऋण सहकारी र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताहरुले सोमबार पोखरामा संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापन पत्रपनि बुझाएका छन् ।

पीडितहरुले प्रदर्शनका क्रममा बचतकर्ताहरुको बचत रकम अपचलन गर्ने सहकारी सञ्चालकहरुलाई कारवाही गर्नपनि माग गरे । प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका उनीहरुले देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्नेलगायतका नाराहरु लगाएका थिए । प्रदर्शनकारीहरुले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’भन्नेलगायतका प्लेकार्डसमेत बोकेका थिए ।

पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको कास्की प्रहरी बताउँछ । रकम अपचलन गर्नेहरु फरार रहँदा प्रहरी प्रशासनले पक्राउ गर्न उदासिनता देखाएको तथा पक्राउ गरिएकाहरुलाईसमेत अदालतले धरौटीमा छाडेको भन्दै प्रदर्शनकारीहरुले आक्रोस पोखेका थिए ।

आफूहरुले बचत रकम फिर्ता र दोषीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेपनि माग सम्बोधन नभएपछि बाध्य भएर संयुक्त आन्दोलन शुरु गरिएको कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । फरार सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनले सक्ने भएपनि त्यसप्रति अग्रसरता नदेखाएको उनको आरोप छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।