होटल पोखरा भिलेज एण्ड स्पा बन्यो चारतारे स्तरको


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख ११

पोखराको चर्चित होटल मध्येको एक होटल पोखरा भिलेज अब चार तारे लेभलको बनेको छ । पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले आफूले सञ्चालन गर्दै आएको पोखरा हल्लनचोकदेखि करीब एक सय मिटर उत्तरतर्फ रहेको होटल पोखरा भिलेजलाई अपग्रेड गरेर चार तारे लेभलको बनाइएको हो । जसका लागि उनले पछिल्लो पटक ७ तले नया भवन थपेका छन् । जहाँ ४२ वटा कोठाहरु थपिएपछि अब होटल पोखरा भिलेज एण्ड स्पामा कुल ६५ वटा कोठाहरु पुगेको सञ्चालक हरि शर्मा गैह्रेले जानकारी दिए ।

करीब २५ करोड लगानी थपेर सञ्चालनमा आएको पोखरा भिलेज एण्ड स्पामा हनिमून सुईट रुम, ईम्पेरियल सुईट रुमदेखि स्पेसल सुपर डिलक्स रुमसम्म रहेका छन् । त्यसबाहेक सुपर डिलक्स फ्यामिली रुम, स्ट्याण्डर्ड रुमपनि रहेको होटलका जनरल म्यानेजर लक्ष्मण खड्काले जानकारी दिए । उनका अनुसार होटलमा पर्याप्त कार तथा मोटरसाइकल पार्किङदेखि आउट डुअर स्वीमिङ पुलसमेत छन् । त्यस्तै ठूला साना गरेर ३ वटा हलहरु रहेका छन् । जहाँ सभा, सेमिनार, अन्र्तक्रिया, सेलेब्रेसनलगायतका कार्यक्रम गर्न सकिने उनको भनाई छ ।

होटलले हनिमून सुईट रुमसमेत राखेर पोखराको हस्पिटालिटी क्षेत्रमा नया आयाम थपेका छन् । जुन नव विवाहित जोडीहरु हनिमून मनाउन पोखरा आउँदा बस्ने गन्तव्य बन्ने अपेक्षा गरिएको सञ्चालक हरि शर्मा गैह्रेले बताए । ‘हनिमून मनाउन पोखरा आउने जोडीका लागि लक्षित गरेर हनिमून सुईट रुम राखेका हौं’–उनले भने । त्यस्तै पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटकलाई केन्द्रीत गरेर होटलले सुपर डिलक्स फ्यामिली रुमसमेत राखेको उनले बताए । उनका अनुसार होटलमा आउनेका लागि देशैभर गाडीको सुविधा दिइनुका साथै हवाई सेवा र गाडीको टिकटपनि त्यहीँबाट बुकिङ गर्न सकिनेछ ।

होटलले परिसर भित्रै कफी सप र रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । जहाँ पर्यटकले आफूले चाहे अनुसारको खाना, खाजा, कफीदेखि डिनरसम्म गर्नसक्ने जनाइएको छ । रेष्टुरेण्टमा नेपाली, कन्टिनेन्टल, ईटालियन, ईण्डियन, चाइनिजलगायतका खानाका परिकारहरु पाक्ने जिएम खड्काले बताए । होटल हाताभित्रै रहेको गार्डेन कफी बारमा बिन्स र बेक्ड कफी सर्भ गरिने उनले जानकारी दिए ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालको नजिक रहेको यस होटलको बाल्कोनीमा बसेर फेवाताललगायतका प्राकृतिक छटाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

यसैबीच होटलको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले पर्यटकीय राजधानी पोखरामा गुणस्तरीय पर्यटक भित्राउन पोखरा भिलेजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘पर्यटकीय राजधानी घोषणा गरिएको छ, त्यसैले हामीले राजधानी स्तरकै सेवा र सुविधा दिन जरुरी छ । त्यसका लागि पोखरा भिलेज एण्ड स्पाजस्ता होटल तथा रिसोर्ट खुल्दै जानुपर्छ र सेवापनि गुणस्तर बनाउँदै जानुपर्छ ।’

उद्घाटन कार्यक्रममा बोल्दै होटलका सञ्चालक हरि शर्मा गैह्रेले पोखरा भिलेजलाई सेवा क्षेत्रको नमूना बनाउने संकल्प गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई ब्राण्डिङ र प्रचारप्रसार गर्न सकिएमा पोखरामा वार्षिक २० लाख पर्यटक भित्राउन सकिने बताए ।

पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले सेवा क्षेत्रमा पोखरा भिलेज अब्बल सावित हुन सकोस् भन्ने शुभकामना दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।