वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित




वैशाख १३ काठमाण्डौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो ।

मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने हुन्छ ।

यति लामो यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुका साथै लिखित आग्रह गरिएको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए । “खाना, खाजा तथा पानीसमेत नपाउँदा श्रमिकहरूले भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनिएपछि सरोकारवालालाई बोलाएर छलफल गर्यौ । छलफलपछि बुधबार नै सम्बन्धित निकायलाई जहाजको टिकटमै अत्यावश्यक सुविधा तोक्न आग्रह गरेका हौ”, घिमिरेले भने ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएकासम्बन्धमा पनि व्यवसायीलाई आफनो क्षेत्राधिकारभित्र रहेर काम गर्न सचेत गराइएको महानिर्देशक घिमिरेले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।