पोखरामा भोलिदखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख १४

पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुने भएको छ । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा भोलिदेखि पोखरामा पुरुष तथा महिला ट्रायथलन एसिया कपको चौथों संस्करण तथा दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष रोकिएपछि यस वर्ष हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल ट्रायथलन एशोसियसन (एनटिए)ले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कुल ६२ जनाले भाग लिने प्रतियोगिता संयोजक डिल्लीराज सुवेदी (शिशिर)ले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, उज्वेकिस्तान, काजाकस्तान, मरिसस, अष्ट्रेलिया, यूएई, प्यालेस्टाईन, एरुग्वे, अष्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग र टोगोका खेलाडीले सहभागिता जनाउने उनले बताए । महिला र पुरुष गरेर दुई फरक स्पर्धामा हुने प्रतियोगिताका लागि खेलाडी र अतिथिहरु पोखरा आइसकेको उनको दाबी छ ।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाईडलाई केन्द्रीत गरेर आयोजित च्याम्पीयनसीपको स्प्रिन्ट विधा अन्तर्गत ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुनेछ । स्विमिङ फेवातालमा हुनेछ भने दौड गौरीघाट, सहिदचोक, मुस्ताङचोक, विरौटा, ड्यामसाईडहुँदै गौरीघाटमै पुगेर समापन हुने संयोजक सुवेदीले बताए ।

प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पोखरा पर्यटन परिषदले जनाएको छ । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भने,‘खेलाडी र अतिथिहरु आएपछि पर्यटनमा सघाउ त पुग्छ नै । त्यो भन्दापनि बढी प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ ।’

प्रतियोगिताको च्याम्पीयनले ६ सय ३० अमेरिकी डलर अर्थात करीब ८४ हजार, द्वितीय हुनेले ५२५ डलर अर्थात करीब ७० हजार, तृतीय हुनेले ४२० डलर अर्थात करीब ५६ हजार, चौथो हुनेले ३१५ डलर अर्थात ४२ हजार र पाचौं हुनेले २१० डलर अर्थात करीब २८ हजार रुपैया पुरस्कार पाउने नेपाल ट्रायथलन एशोसियसन (एनटिए)का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७० लाख खर्च हुने अनुमान गरिएको नेपाल ट्रायथलन एशोसियसन (एनटिए)का महासचिव युवराज सुनुवारले जानकारी दिए । प्रतियोगिताको कुल पुरस्कार राशीमात्रै ४ हजार २ सय डलर अर्थात करीब ५ लाख ५८ हजार रुपैयाँ खर्च हुने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।