बागलुङमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु, दुई घाइते


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

वैशाख १४ बागलुङ । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो भने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए । विहान ११ बजेदेखि बेपत्ता हुएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको उनको भनाइ छ ।

घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताए । घाइते दुईजनाको शरीरका विभिन्न अङ्गहरु जलेको उनले जानकारी दिए । आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उनको भनाइ छ ।

“बिहानदेखि नै आगलागी भएको रैछ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरु आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्,” प्रहरी निरीक्षक सुनारले भने, “आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणबाहिर छ, तत्काल बस्तीहरु त जोखिममा छैनन् तर जङ्गल सबै जल्ने भयो ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।