खास्टे ताल किनारमा जीवन र जगतको खोजी


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित




गण्डकी । पोखरेली साहित्यकारहरूले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आएका छन् । अभियानका क्रममा दुई सय १० औँ श्रृङ्खला लिएर शनिबार साहित्यकारहरू पोखरा महानगरपालिका–२६ स्थित खास्टेताल किनार पुगे ।

साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गतको यस श्रृङ्खलामा कविहरूले खास्टे ताल किनारमा साहित्यीक रचनाका माध्यमबाट जीवन र जगतको यथार्थ खोजी गर्ने प्रयासमा गरेका थिए ।

खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा अभियानका परिकल्पनाकारमध्येका एक स्वर्गीय प्रकट प¬ङ्गेनी शिवप्रति सम्मान र सम्झना गर्दै सुरूभएको श्रृङ्खलामा २६ जना कवि तथा कवयत्रीले आफ्ना रचनामार्फत जीवन र जगतको खोजी गरेका थिए।

त्यसक्रममा नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारी, साहित्यकारहरू शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुँइकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, बसन्तमोहन भट्टराईलगायत २६ जनाले आफ्ना रचनामार्फत जीवन र जगतका विविध आयाममाथि चर्चा परिचर्चा गरे ।

उनीहरूका रचना सुनिसकेपछि कार्यक्रममा सहभागी पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नरेन्द्र थापाले साहित्यिक व्यक्तित्वको उपस्थितिले तालको महिमा र गरिमा अझै बढाएको बताए । उनले साहित्य समाजको ऐना भएकाले साहित्यकारको उपस्थितिले खास्टे तालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमा साहित्यकार तथा साहित्यीक सङ्स्थासँगको सहकार्यमा राष्ट्रियस्तरको गजलसँग सम्बन्धित कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साहित्यकार तीर्थ श्रेष्ठले खास्टेमा लगाइएका कमलका फूलको संरक्षण गर्दै ज्येष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढावा दिन सकिने धारणा राखे । साहित्यकार गणेश पौडेलले स्रष्टाले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको धारणा राखे ।

पोखरा महानगरपालिका–२६ तथा खास्टेताल टोल विकाश संस्थाको व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय हरिप्रसाद अधिकारी, बुद्धिराज अधिकारी, ईश्वरराज भण्डारीलगायतले खाष्टे तालका साथै बाराही मन्दिरको महत्वबारे चर्चा गरेका थिए

विसं २०६२ असार १८ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्यसागरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको अक्षरयात्रा तत्कालीन समयमा साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी ‘शिव’, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा सुरू गरिएको थियो । ‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ हरेक श्रृङ्खलामा साहित्यिक रचनाका माध्यमबाट कवि तथा कवयत्रीहरूले समाजका यथार्थलाई प्रस्तुत गर्नु नै यस अभियानको विशिष्टता हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।