‘पोखरा स्पोर्टस् अवार्ड’लाई टाइगर ग्रुपको साथ

- टाइगरले वर्ष उत्कृष्ट खेल संघसंस्थाको पुरस्कार प्रायोजना गर्ने


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित




वैशाख १६ पोखरा । यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ ।

टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको पोखरा स्पोर्टस् अवार्डलाई सघाउन पाउँदा आफूलाई गौरव महशुस भएको बताए । उनले भने,‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ हामी सामाजिक अभियानमा काम गर्ने संस्था लगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ ।’ पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत समेत रहेका शर्माले भने । उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफू सहित सम्पूर्ण कार्यसमिति नै हर्षित भएको जनाए ।

ग्रुपले विगतदेखि पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै मञ्चका अध्यक्ष बरालले सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

टाइगर ग्रुपले पोखरामा हरेक वर्ष आमन्त्रण महिला तथा पुरुष क्लव स्तरिय टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको ग्रुपले विगत वर्षदेखि अवार्डलाई सहयोग गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए ।

वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्टस्, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फकोर्ष, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लरलगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।