लोकतान्त्रिक अभ्यास गरि मनाङमा जिल्ला बाल सञ्जाल गठन


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित




मनाङ । हिमाली जिल्ला मनाङका बालबालिका लोकतान्त्रिक अभ्यास गरिरहेका छन् । जिल्ला बाल सञ्जाल गठनका लागि लोकतान्त्रिक अभ्यासमार्फत् आफ्ना अधिकार उपयोग गरी अध्यक्ष चयन गरेका छन् ।

सतहबाट नै लोकतान्त्रिक अभ्यास सिकाउने उद्देश्यले यहाँका बालबालिकालाई लोकतान्त्रिक पद्धतिबाट निर्वाचन गरी नेतृत्व चयन गरिएको शिक्षा तथा समन्वय विकास एकाई मनाङका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार विद्यालयस्तरको सिकाइले भविष्यमा सहज बनाउनेछ ।

बालबालिकाको अधिकार उपयोगमा सहयोग पु¥याउने उद्देश्यले लोकतान्त्रिक अभ्यासमार्फत कार्यक्रम गरिएको सामाजिक विकास कार्यालय मनाङका प्रमुख नारायणप्रसाद बाँस्तोलाले बताए । उनले भने, “प्रविधिको युगमा बालबालिकालाई हक, अधिकार उपयोगमा सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास गरिएको हो ।” राष्ट्रिय बाल परिषद् पुल्चोक ललितपुरका प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालअधिकार ऐन अनुसार बाल क्लब, सञ्जालको दर्ता तथा व्यवस्थित गर्नुपर्ने व्यवस्था रहेको बताए ।

उनले भने, “बालबालिकालाई निर्वाचनको लोकतान्त्रिक अभ्यास सिकाउनुका साथै बालबालिकालाई आफ्ना हकअधिकार स्थापित गर्न र बालबालिकाको संरक्षित हुने अधिकार कानुनले दिएको छ । सोहीअन्तर्गत रहने गरी गाउँपालिकाले जिल्लाका बालबालिकाले नै नेतृत्व चयन गर्ने गरी जिल्ला बाल सञ्जाल परिकल्पना गरिएको हो । आइतबार र सोमबार गरी नयाँ समिति गठन गरिएको छ ।”

समग्र जिल्लाको बालबालिका अधिकारको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको वाग्लेको भनाइ छ । लोकतान्त्रिक अभ्यासले बालबालिकालाई मताधिकारसम्बन्धी सचेतना समेत प्रदान गरेको छ ।

निर्वाचन समिति संयोजक शिक्षा तथा समन्वय विकास एकाईका प्रमुख मतिलाल चपाईको संयोजकत्वमा अनिता चुदाली र सुनिल राना सदस्य रहेका थिए। उक्त समितिले चामे गाउँपालिका–४ का पूर्णिमा घलेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बाल सञ्जालको पुनःगठन गरेको छ । सञ्जालको उपाध्यक्षमा नासों गाउँपालिका–१ का सुफी गुरुङ, सचिवमा मनाङ ङिस्याङ गाउँपालिका–६ का रासिका गोतामे, सहसचिवमा चामे–४ का आदिश गुरुङ र कोषाध्यक्षमा नासों–५ का बुद्धराज घले चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मनाङ ङिस्याङ–५ का मङ्गल गुरुङ, चामे–४ का समीर गुरुङ, नासों–८ का अनिल गुरुङ, चामे–४ का अन्जु थापा, नार्पाभूमि गाउँपालिका–३ का सृष्टिका लामा र नार्पाभूमि–१ का छिमी लामा निर्वाचित भएका छन् । बालबालिकाको हकअधिकार उपयोग गर्न सिकाउने उद्देश्यले सामाजिक विकास कार्यालय मनाङको समन्वय तथा सहयोगमा कार्यक्रम गरिएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।