इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित




फाइल फोटो

वैशाख १७ इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिइरहेका छन्। फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार दुई सय ७३ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४४ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले दुई हजार आठ सय तीन मतसहित चौथो स्थानमा छन् ।

मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले चार सय ६९, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राईले तीन सय २५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय २६ मत प्राप्त गरेका छन् ।

छ वटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।