पोखरा, बैशाख १८
सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले विश्वासको मत लिने बाटो खुल्ला गरिदिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाईसमेत गणना गरेको र सोहि आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा सदस्य रहने र त्यसमा ३० सदस्य भए बहुमत पुग्ने भन्दै रिट नै खारेज गरिदिएको थियो ।
सर्वोच्चले बहुमत पुग्ने नपुग्ने विश्वासको मत लिँदा परीक्षण हुने बताएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएको एक महिना अर्थात ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ । सो अनुसार अधिकारीले बैशाख २४ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
मुख्यमन्त्री अधिकारीले केहि दिनमै विश्वासको मत लिने तयारी गरेको बुझिएको छ । त्यसको तयारी स्वरुप मंगलबारदेखि नै मुख्यमन्त्री अधिकारीले दलहरुसँग छलफल थालेका छन् । उनले मंगलबार सत्तारुढ नेकपा माओवादीका नेताहरुसँग विश्वासको मत लिनेबारे छलफल गरेका छन् । त्यस्तै राप्रपासँगपनि अनौपचारिक छलफल भएको बुझिएको छ । अदालतले बाटो खोलिदिएसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेबारे दलका नेताहरुसँग छलफल गरिरहेको मुख्यमन्त्री अधिकारीको सचिवालयले जनाएको छ । छलफल सकारात्मक छ,सचिवालय श्रोतले भन्यो,‘३÷४ दिन भित्रै विश्वासको मत लिने सम्भावना छ ।’
मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन राप्रपासमेत तयार रहेको सत्तारुढ दलहरुको दाबी छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले विश्वासको मत दिन राप्रपा सकारात्मक रहेको दाबी गरे । आन्दोलन र सर्वोच्चमा विचाराधीन मुद्धाका कारण यसअघि राप्रपाले समर्थन जनाउन सकेको थिएन,प्रमुख सचेतक नेपालीले भने,‘तर सर्वोच्चको फैसलासँगै राप्रपा विश्वासको मत दिन सकारात्मक छ । सायद एक÷दुई दिनमै औपचारिक निर्णय होला ।’
राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम तमुपनि सरकार निर्माणको बारेमा छलफल गर्न आफूहरु तयार रहेको बताए । अहिले पार्टीको कार्य सम्पादन समितिको बैठक बसिरहेकाले त्यसले दिने सुझावका आधारमा सत्ता सहकार्यको टुंगो लाग्ने उनको भनाई छ । सत्ता सहकार्यका लागि हामी खुल्ला छौं,उनले भने,‘जसले हाम्रो एजेण्डामा सहमति जनाउँछ । सुशासन र समृद्धिका लागि प्रतिबद्धता जनाउँछ । उसैसँग हाम्रो सहकार्य हुन्छ ।’ जनताले दलहरुबीच सहकार्य गरेर जानेगरी म्याण्डेट दिएकाले सोहि अनुसार अगाडि बढ्नुको विकल्प नहुने उनले बताए । उनले केन्द्रले सत्ता गठबन्धनलाई नसघाउने निर्णय गरेपनि गण्डकीमा आवश्यक्ताको सिद्धान्तले माग गरेपछि सहकार्यको बाटो खुल्ला गरिएको प्रष्ट्याए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ । सर्वोच्चको फैसला अनुसार विश्वासको मतका लागि सभामुखबाहेक ३० मत नै काफी हुने भएको छ । तर माओवादीमा गणना हुँदै आएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने आशंका सत्तारुढ गठबन्धनले गर्दै आएका छन् । त्यसैले गठबन्धनलाई बलियो बनाउन सत्ता गठबन्धनले राप्रपाको समर्थन खोजिरहेको छ । राप्रपापनि गठबन्धनमा मिसिए सत्ता गठबन्धनमा ३२ सांसद हुन्छन् । विपक्षी नेपाली कांग्रेसका २७ सांसद छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





