वैशाख १८ इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु ”, अध्यक्ष ओलीले भने, “ अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।”
अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे । उनले भने, “मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।”
अध्यक्ष ओलीले सुवास नेम्बाङले थालेको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे । उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे । उनले भने, “सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ ।”
ओलीले आफ्ना उम्मेद्वार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) समेत धन्यवाद दिए । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए । “म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु”, उनले भने, “०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।”
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज धीरेन्द्र शर्मा र नेकपाका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज सुमन सीले बामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको जनाउँदै धन्यावाद ज्ञापन गरे । सुहाङले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । सुहाङले २७ हजार सात सय ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी खड्काले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





