पोखरा । आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय समितीले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग गरेको छ ।
महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएकोले आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर फोनिजले एक विज्ञप्ति प्रकाशन गरि क्षेष्ठलाई संस्थापक अध्यक्षमा मान्यता दिन माग गरेको हो । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएका थिए भने उनी सोही समयमा नेपाल टुडेको सम्पादक समेत थिए।
उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो।
उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो। यो सभाले पनि श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो। त्यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो।
२०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक भट्टराई सभापति भएका थिए। श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै संघको अध्यक्ष बनेका भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको प्रति फोनिजले श्रेष्ठलाई नै संस्थापक अध्यक्ष बनाउनु पर्ने भन्दै फोनिजले पटक पटक आपत्ति जनाउँदै आएको छ।
फोनिज केन्द्रिय कार्यवाहक महासचिव समीर बलामीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,
‘नेपाल पत्रकार महासंघ नेपाली पत्रकारको ज्येष्ठ र साझा संगठन हो । वि.सं. २००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्वमा नेपालका पत्रकार पहिलो पटक संगठित भएर ‘नेपाल पत्रकार संघ’ गठन भएको गरिमामय इतिहास स्मरणयोग्य छ । कालान्तरमा नेपाल पत्रकार संघ रूपान्तरित भई महासंघ बनेको हो । अहिले देशैभरका पत्रकारको बृहत् र सबै भन्दा बढी सदस्य संख्या भएको संगठनका रूपमा नेपाल पत्रकार महासंघ विराजमान छ । श्रमजीवी पत्रकारहरुको हकहित र आम नागरिकको वाक स्वतन्त्रताका निम्ति पनि क्रियाशील र आन्दोलनरत संगठनका रूपमा स्थापित एवम् परिचित छ, महासंघ ।
निश्चय पनि यतिबेला देशैभरका पत्रकारका निम्ति नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन उत्सव समान मात्रै छैन, देशको आर्थिक अवस्थाका कारण र त्यसलाई कारण देखाउँदै ठूला सञ्चार माध्यमहरुले जसरी श्रमजीवी पत्रकारलाई रोजगारीबाट हटाउने र पेशा नै जोखिममा पार्नेलगायत विभिन्न समास्याका बीच यो महाधिवेशन आयोजना हुँदैछ । देशैभरबाट महासंघको यस २७औं महाधिवेशनमा प्रतिनिधिका रूपमा पाल्नु हुने सम्पूर्ण पत्रकारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०को तर्फबाट हार्दिक स्वागत र विश्व प्रेस स्वतन्त्रता दिवस तथा महासंघको २७ औ महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछौं ।
महासंघले इतिहासदेखि वर्तमानसम्म आफ्नो संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको योगदानलाई अनदेखा मात्रै होइन, नामेट पार्ने दुस्प्रयास गरेको छ । यो सरासर गलत छ । महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ कायम गरियोस् भनी फोजिनले बिगत लामो समयदेखि आन्दोलन गरिरहेको छ, यद्यपि यसको सुनुवाई गरिएको छैन । इतिहासका तथ्यमाथि न्याय गर्न नसक्ने र संस्थापक अध्यक्षका सम्बन्धमा कायम गरिएको गलत तथ्य खारेज गर्न नसक्ने महासंघको कायरताप्रति फोनिज रोष प्रकट गर्दछ ।
सिंगो पत्रकारहरूको साझा र छाता संगठनको इतिहास गलत छ भन्ने प्रश्न उठिसकेपछि त्यसको निरूपण गर्ने जिम्मावारी पनि मूलत महासंघकै हो । यसै परिप्रेक्ष्यमा महासंघको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुरूप हाल वार्ता र सम्वादको प्रकृया शुरू हुनु सकारात्मक कुरा हो । तर त्यसले फोनिजलाई अल्झाउने प्रयत्न मात्र गरेको देखिन्छ । ऐतिहासिक तथ्य। प्रमाण र दस्तावेजका आधारमा खुल्ला र निशर्त छलफल गरी विधिवत् रूपमा यो विषय टुंग्याउनु पर्दछ भन्ने दृढ धारणा फोनिजको छ । यिनै सन्दर्भमा हुन गई रहेको महाधिवेशनमा गहनतम् छलफल गरी ठोस निष्कर्ष निकाल्नु पर्दछ । यसका लागि महासंघले छलफलका लागि एजेण्डा खुल्ला रूपमा प्रस्तुत गर्ने छ र तथ्यमा आधारित खुल्ला बहस गरी सही निष्कर्षमा पुर्याउन फोनिज सम्वद्ध सबैसंग हार्दिक अपिल गर्दछौं । र यसै विज्ञप्तिमार्फत नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरियोस् भनी फोनिज जोडदार माग गर्दछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






