६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० लाई बहुमत मानेर विश्वासको मत लिने तयारी


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २१

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख २३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी बैशाख २३ गते आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो ।

यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने व्यवस्था मिलाईदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । सोहि अनुसार प्रदेश सभाको बैठकको मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएको एक महिना अर्थात ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ । सो अनुसार अधिकारीले बैशाख २४ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्नेमा एक दिन अगाडि नै विश्वासको मत लिने तयारी भएको हो ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्ला गरिदिएको थियो । मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाईसमेत गणना गरेको र सोहि आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा सदस्य रहने र त्यसमा ३० सदस्य भए बहुमत पुग्ने भन्दै रिट नै खारेज गरिदिएको थियो ।

सर्वोच्चले बहुमत पुग्ने नपुग्ने विश्वासको मत लिँदा परीक्षण हुने बताएको छ । तर सभामुखबाहेक ५९ सदस्यीय प्रदेश सभा हुने भएकाले ३० बहुमत समर्थित देखिने सर्वोच्चको व्याख्या छ । सर्वोच्चको सोहि व्याख्या अनुसार नै ३० लाई बहुमत मानेर विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी छ । त्यसमा सभामुखलेपनि साथ दिने मुख्यमन्त्रीको विश्वास छ ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान भने राप्रपाको समर्थनमा स्पष्ट बहुमत पु¥याईने बताउँछन् । ‘सर्वोच्चको व्याख्या अनुसार नै ३० लाई बहुमत मान्ने तर्कहरुपनि आएका छन् । तर त्यो विकल्पमा जानुपर्ने अवस्था आउलाजस्तो लाग्दैन’–उनले भने ।

तर राप्रपाले भने सत्ता गठबन्धनलाई समर्थन नजनाउने निर्णय गरिसकेको छ । केन्द्रको सो निर्णय प्रदेशमा पनि लागु हुने राप्रपाका नेताहरु बताउँछन् । राप्रपाका सांसद पञ्चराम तमु विश्वासको मत दिने, नदिनेबारे पार्टीले निर्णय गरिनसकेको बताउँछन् । भन्छन्,‘केन्द्रको निर्णय त सत्ता गठबन्धनलाई नसघाउने भन्ने छ । केन्द्रको निर्णय नै प्रदेशमा लागु हुनपनि सक्छ । तर हाम्रो एजेण्डा मानेको खण्डमा पुर्नबिचारपनि गर्न सकिन्छ ।’

६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ । सर्वोच्चको फैसला अनुसार विश्वासको मतका लागि सभामुखबाहेक ३० मत नै काफी हुने भएको छ । तर माओवादीमा गणना हुँदै आएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने आशंका सत्तारुढ गठबन्धनले गर्दै आएका छन् । त्यसैले गठबन्धनलाई बलियो बनाउन सत्ता गठबन्धनले राप्रपाको समर्थन खोजिरहेको छ । राप्रपापनि गठबन्धनमा मिसिए सत्ता गठबन्धनमा ३२ सांसद हुन्छन् । विपक्षी नेपाली कांग्रेसका २७ सांसद छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।