विरोधका बीच अधिकारीले विश्वासको मत पाएको घोषणा


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा, बैशाख २३

गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । जसको बहुमत ३१ हुनुपर्ने हो । तर आइतबार विश्वासको मत माग्दा ३० लाई नै बहुमत मानिएको छ । गत चैत २५ गते सभामुखलाईसमेत गणना गरेर खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । जसलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले वैधानिकता दिदै मुख्यमन्त्रीमा नियुक्त गरे ।

सभामुखलाईसमेत गणना गरेर मुख्यमन्त्रीमा दाबी पेस र त्यसैका आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्ती खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्चले पाण्डेले मागेजस्तो नियुक्ती खारेज गरेन । बरु सभामुखबाहेक ३० जना सांसद देखिएकाले बहुमत समर्थित देखिएको भन्दै रिट नै खारेज गरिदियो । र भन्यो,‘बहुमत रहे, नरहेको विश्वासको मत लिँदा परीक्षण हुन्छ ।’

सर्वोच्चले बाटो खोलिदिएपछि गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत मागेका हुन् । जहाँ ३० सदस्यले उनलाई विश्वासको मत दिए । सभामुखले सोहि संख्यालाई बहुमत मानेर विश्वासको मत पाएको घोषणा गरे । सर्वोच्चले ६० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ५९ सदस्यीय हुने र त्यसमा ३० नै बहुमत समर्थित देखिन्छ भनेर गरेको व्याख्यालाई नै आधार बनाएर सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरे ।

विश्वासको मत पाएको घोषणा गरिरहँदा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले विरोध गरे । कांग्रेस सांसदहरु विरोध गर्दै सभामुखको लबीमा प्रवेश गर्न खोज्दा मार्यादा पालकहरुले रोकेका थिए । मर्यादा पालकहरुले रोकेपछि कांग्रेस सांसदहरुले घोषणाबिरुद्ध विरोध गर्दै नाराबाजीमा उत्रिए । तर सभामुख धिताल त्यतिमा रोकिएनन् र हतारहतार विश्वासको मत पाएको घोषणा गर्दै प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको घोषणा गरे ।

अधिकारी सत्ता गठबन्धन एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत दिए । विपक्षमा नेपाली कांग्रेसका २७ जनाले मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसे ।

विश्वासको मत दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ह्वीप नै जारी गरेका थिए ।

यसअघि गण्डकीका मुख्यमन्त्री अधिकारीले राजनीतिक स्थायीत्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफू सामाजिक न्यायसहित विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै यसलाई साकार पार्नपनि आफूलाई विश्वासको मत दिन उनको आग्रह थियो ।

विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिदै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्णप्रसाद धिताललाई दलीय पक्षधरता नलिन चेतावनी दिए । सभामुख धितालले दलीय पक्षधरता लिने खतरा रहेको आशंका गर्दै उनले भने,‘सभामुखले आफ्नो निर्णय गर्दा संविधानमा लेखिएको कुरा ख्याल गर्नुहोला, सभामुख भनेको कुनै दलीय पक्षधरता नलिने हो, तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, यहाँ पनि तटस्थ बस्नुहोला ।’ उनले दलीय पक्षधरता नलिन गरेको आग्रहलाई अटेर गरे कुनै दिन सभामुखले रोष्ट्रमको कठघरामा उभिएर जवाफ दिनुपर्ने दिन आउन सक्ने चेतावनी दिए । त्यो भनेको उनले घुमाउरो भाषामा महाअभियोग लगाउने भन्ने संकेत थियो ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले वर्तमान सरकारले विश्वासको मत नपाए प्रदेश सभा विघटन हुने खतरा रहेको बताए । वर्तमान सरकारले विश्वासको मत नपाए अस्थिरता निम्तिने र त्यहि कारण प्रदेश सभा विघटन हुने उनको तर्क थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।