गण्डकीमा मन्त्री परिषद बिस्तार, मन्त्री बन्न फडिन्द्रले गरे अस्वीकार


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८१ मा प्रकाशित




वैशाख २४ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको भोलिपल्ट सोमबार एमालेबाट दुई मन्त्री थपेर मन्त्री परिषद संख्या ५ पु¥याएका हुन् । दोश्रो पटक मन्त्री परिषद बिस्तार हुँदापनि मन्त्री परिषदले पूर्णता भने पाएको छैन ।

मुख्यमन्त्री अधिकारीले सोमबार एमालेका वेदबहादुर गुरुङ र सीता सुन्दासलाई मन्त्री नियुक्त गरे । नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिए । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्री गुरुङ कास्की १ (ख)बाट र मन्त्री सुन्दास स्याङ्जा १(क)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

नवनियुक्त मन्त्री गुरुङलई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान आर्थिक मामिला मन्त्री र स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

यसैबीच गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले मन्त्री बन्न अस्वीकार गरेका छन् । उनलाई माओवादीले मन्त्रीका लागि सिफारिस गरेको थियो । तर उनले मन्त्री बन्न अस्वीकार गरेको श्रोतले बताएको छ । देवकोेटालाई मुख्यमन्त्री खगराज अधिकारी र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान दुवैले मन्त्री बन्न आग्रह गरेका थिए । तर देवकोटाले तत्काल मन्त्री नबन्ने जवाफ दिएको श्रोतले बतायो । देवकोटाले नेपाल समाजवादी पार्टीको कोटाबाट मन्त्री बनाउने निर्णय र पार्टीको निर्णय नभएसम्म सरकारमा नजाने बताए । उनले भने,‘नेपाल समाजवादी पार्टीको सदस्य मलाई अर्को कुनै पार्टीको कोटाबाट मन्त्री बन्नु छैन । मलाई मेरै प्यारो छ । अर्काको घर ठूलो भयो भन्दैमा त्यसकै कोटामा राख्नु अन्याय हुन्छ । अनि पार्टीको बैठक बैशाख २६ गतेदेखि बस्ने भएकाले सो बैठकले जे निर्णय गर्छ त्यहि अनुसार अघि बढ्छु ।’

मुख्यमन्त्री अधिकारी गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेपछि सोहि आधारमा मुख्यमन्त्री नियुक्त गरिएपछि कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो । तर सर्वोच्चले ६० सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ५९ सदस्यीय हुने र त्यस आधारमा ३० बहुमत समर्थित देखिने भन्दै रिट खारेज गरिदिएको थियो । सर्वोच्चले विश्वासको मत लिने बाटो खुल्ला गरेपछि मुख्यमन्त्री अधिकारीले आईतबार विश्वासको मत मागेका थिए । जसमा ३० लाई नै बहुमत मानेर विश्वासको मत पाएको घोषणा सभामुखले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।