पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित




वैशाख २९ पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताएका छन् । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिए ।

पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरै काम गर्न बाँकी रहेको उनले बताए ।
‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी समेत हो, यी विशिष्ट प्रकृति र संस्कृतिप्रतिको सम्मानको लागि यसलाई उजागर गर्दै संसारभरी पर्यटन उत्पादनको रुपमा अगाडि बढाउनुपर्छ’ मुख्यमन्त्री अधिकारीले भने ।

यहाँको कला, साहित्य, संस्कृति र संगीतकोे क्षेत्रमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्यहरुको भने उहाँले प्रंशसा गरे ।
‘गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्य उत्कृष्ट छन्, फूल सारे माया नमारे भन्ने गीतले भनेझै फूल राम्ररी सार्नेछौ, संरक्षण गर्नेछौं, संरक्षणको अभियान निरन्तर जारी छ’ उनले थपे ।

प्रतिष्ठानले गर्ने कार्यमा गण्डकी प्रदेश सरकारका निरन्तर साथ रहने उनको प्रतिवद्धता थियो ।

वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान अर्पण गरिएको थियो ।

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित भएका छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिएको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित भइन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरियो ।

सम्मानित सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी सहित, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान अर्पण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।