स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खानद्वारा शपथ ग्रहण


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित




वैशाख ३१ काठमाण्डौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवले नेपालको संविधानको धारा, ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आजै राष्ट्रपति पौडेलेको उपपस्थितिमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि नेपालको संविधानको धारा, ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा जसपाका सांसद प्रदीप यादवलाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार तोकिएको छ ।

विसं २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७६ को उपधारा (९) बमोजिम यादव र खानलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।