
फाइल तस्विर
जेठ १ काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताएका हुन् ।
“विभिन्न मन्त्रालयअन्तर्गत नयाँ कुरा राखिएको छ । यसको अर्थ पुराना कुरा छैनन् भनेको हैन, कतिपयको निरन्तरता छ । तर धेरै विषय नयाँ आएका छन । मूल कुरा यी सबै कार्यान्वयन गर्नेमा ध्यान दिनुपर्छ”, उनले भने ।
उनले गृहसँग सम्बन्धित नीति तथा कार्यक्रममा केही नयाँ विषय उल्लेख भएको जानकारी दिए । उनले सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने नयाँ विषय यस पटक समेटिएको बताए ।
यस्तै खुला कारागार सञ्चालन र राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गरिनेलगायतका विषय नयाँ भएको उल्लेख गरे ।
यस्तै गाँजाको औषधीजन्य प्रयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने विषय नयाँ भएको उनको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।