
पोखरा । फेवातालको जलकुम्भी हटाउन १५ दिन दैनिक सरसफाई गरिने भएको छ । जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत यो अभियान चलाइएको जनाइएको छ । जहाँ हरेक दिन स्थानिय ४० जना जलारीले जलकुम्भी हटाउनेछन् । त्यसबाहेक अन्य ईच्छुकलेपनि स्वयम्सेवी रुपमा सहभागिता जनाउन सक्ने जनाइएको छ ।
जलकुम्भीले भरिएपछि मात्र सरोकारवालाको आँखा खुल्ने गरेकाले यस वर्ष बेलैमा मुहान क्षेत्र सरसफाई गर्ने अभियान थालिएको वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले बताए । ‘जलकुम्भीले ढाकिएपछि सरसफाई गर्दा फेवाताल कुरुप भइसकेको हुन्छ । त्यस्तो अवस्था देख्न नपरोस् भनेर बेलैमा अभियान थालिएको हो’–उनले भने । उनका अनुसार अभियान दुई साता निरन्तर चल्नेछ । सहभागि जलारीलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा तोकिए बमोजिम प्रति ब्यक्ति प्रति दिन ६ सय ४ रुपैया वडा नम्बर छ ले प्रदान गर्ने वडा अध्यक्ष भट्टराईले बताए ।
अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियान्ता र स्थानीयसहित सात सयभन्दा बढी आईतबार अभियानमा सहभागि भए । अभियानको पहिलो दिन आईतबार १५ टिप्पर जलकुम्भी झार हटाइएको छ ।
अभियानको आईतबार सशस्त्र प्रहरी गण मालेपाटन ९कालिका गण०का गणपती प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरे । अभियानको शभारम्भ गर्दै उनले अभियान सफल बनाउनु पोखरेली सबैको दायित्व भएको बताए । उनले भने,‘ताल तलैयालगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तब्य हो ।
पहिलो दिनको अभियानको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जलकुम्भी झार हटाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताए । उनले भने,‘सबैको हातेमालोले मात्र संरक्षण र विकासका अभियान पूरा हुन्छ ।’
अभियान अब दुई हप्ता निरन्तर चल्ने जनाइएको छ । अभियान अबदेखि दैनिक विहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म चल्ने वडा सदस्य शोभा जलारीले जानकारी दिइन् । अभियानमा स्थानिय जलारी समुदाय तथा ईच्छुक अन्य सर्वसाधारण सहभागि हुने वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक तथा नागरिक अभियान्ता रामबहादुर पौडेलको भनाई छ । फेवाताल जस्तै बेगनास ताल, रुपाताललगायतका कास्कीका सबै तालहरुमा पनि यो अभियान चलाईने अभियन्ता पौडेलले बताए । उनले भने, ‘फेवातालमा सुरु गरेका छौं । यो अभियान बेगनाससहित अन्य तालहरुमा पनि निरन्तर चलाउँछौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।