कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रीमण्डल विस्तार, आजै ५ मन्त्रीले लिए सपथ


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित




जेठ ४ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गरेका हुन् ।

यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको मिति २०८१ जेठ ४ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम वैशाख २७ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन नियुक्ति, हेरफेर र कार्यविभाजनसहित शपथग्रहण गराएका थिए ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ मन्त्री कार्की, मगर, अधिकारी, कार्की र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीद्वय राई र झाँगरलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।

यसअघि बिनाविभागीय मन्त्री रहेका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजनामन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा कार्यविभाजन गरेका छन् ।

शपथग्रहण समारोहमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायतका विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ताको उपस्थिति रहेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।