नेकपा एमालेको मुस्ताङ र बाजुरामा नेतृत्व चयन


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित




म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित भएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिए । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।

अधिवेशनको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए। अधिवेशन उद्घाटनका क्रममा उपमहासचिव गुुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट र प्रदेश अध्यक्ष शर्माले नेपाललाई समृद्धिको मार्गमा लैजान बामपन्थी शक्तिहरुको सहकार्य आवश्यक भएको बताएका थिए ।

त्यसैगरि उता बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले दुई सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले दुई सय तीन मत पाए।

उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाए । सचिवमा विजयी काशीबहादुर विकले दुई सय ४१ पाउँदा प्रत्यासी जनक विष्टले एक सय ७१ मत पाए ।

साथै उपसचिव (खुला)मा विजयी हरिबहादुर रोकायाले दुई सय ७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले एक सय १५ मत तथा उपसचिव (महिला)मा विजयी राजकला सार्कीले दुई सय ७७ मत पाउँदा प्रत्यासी कल्पना महतले एक सय २६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिएका छन् ।

यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा चार सय ३९ जना प्रतिनिधि हुनुहुन्थ्यो । जसमा चार सय २५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।