पोखरा, जेठ ७
पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्धन गरेर फर्किएका छन् । सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्व तथा सल्लाहकार एवम् पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य प्रेमप्रसाद सुवेदीको समन्वयमा गएको टोली बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवर्धन गरेर पोखरा फर्किएको हो ।

उद्योग व्यवसाय प्रवर्धन र उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले जेठ ३ गतेदेखि ७ गतेसम्म भ्रमण गरेको टोलीले बागलुङको गलकोटको हटिया बजारमा गलकोट उद्योग वाणिज्य संघ र बुर्तीबाङ्गमा ढोरपाटन उद्योग वाणिज्य संघको समन्वयमा त्यहाँका व्यापारीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको थियो । सो अवसरमा बोल्दै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीले काठमाडौंको भन्दा सस्तोमा गुणस्तरीय सामान बेच्ने गरेको बताए । छिमेकी देशहरु चीन, भारत, थाईल्याण्डलगायतका देशहरुबाट सिधै सामान ल्याएर बेच्ने तथा नेपालकापनि कपडा उत्पादन हुने उद्योगबाट सिधै सामान ल्याउने भएकाले काठमाडौंको भन्दा सस्तो, फरक\फरक सामानपनि पाईने गरेको उनको भनाई थियो । त्यतिमात्र होईन सिधै उद्योगबाट सामान ल्याईने भएकाले यहाँ सस्तोसँगै गुणस्तरीय सामान पाईने उनले दाबी गरे । सो अवसरमा उनले होलसेल सामान खरिद गर्दा सामान ढुवानीका लागि समस्या नहुने भन्दै ट्रान्सपोर्टसँगसमेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा बोल्दै गलकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ढालेन्द्र गौतम र ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले स्थानिय व्यवसायीलाई पोखराको सर्वेश्वर मार्ग र पराजुली मार्गबाट होलसेलमा सामान खरिद गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
गलकोटको हटिया बजार र बुर्तीबाङ्गमा छलफल सकेर सर्वेश्वर व्यवसायी समितिका होलसेल व्यवसायीहरुले पूर्वी रुकुम उद्योग वाणिज्य संघ र पश्चिम रुकुम उद्योग वाणिज्य संघमा आबद्ध व्यापारीहरुसँग छलफल गरेको महासचिव अधिकारीले बताए । सो छलफलमा बोल्दै सर्वेश्वर व्यवसायी समितिका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेमप्रसाद सुवेदीले त्यहाँका अल्लोबाट बनेका रुमाल, टोपी, कोट, पाईन्टलगायतका कपडाको प्रवर्धन र बजारीकरणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
टोली त्यसपछि जाजरकोट, दाङ्गको घोराही, बुटवलहुँदै स्याङ्जाको गल्याङ र वालिङमासमेत व्यापार प्रवर्धन गरेर पोखरा फर्किएको भ्रमण टोलीका संयोजक मुक्तिराम दाहालले जानकारी दिए । त्यहाँपनि स्थानिय व्यवसायीसँग छलफल र अन्तरक्रिया गर्नुका साथै क्यालेन्डर प्रदान गरेर व्यापार प्रवर्धन गरिएको उनको भनाई छ ।
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







