देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०८१ मा प्रकाशित




जेठ १२ पोखरा । पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गरे ।

पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिए । उनले भने, “देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ । सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ ।”

देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाई थियो । अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेकोे उल्लेख गरे । “हामीले जुन व्यवस्था ल्याएका छौँ, यो शासन व्यवस्था सर्वोत्कृष्ट छ । हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चुनौती छ”, उनले भने ।

साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ ।

यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत भए । सो पुरस्कारको राशि रु २० हजार रहेको छ ।

यस्तै कार्यक्रममा पत्रकारहरू शिरोमणि बराल, सुरेन्द्र थापा मगर, बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।

पत्रकार महासङ्घको संस्थागत विकासका साथै समग्र पत्रकारिता क्षेत्रको उन्नयनमा योगदान पु¥याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।