जेठ १४ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताएका छन् । गणतन्त्र दिवसको छेको पारेर पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो अवधिसम्म आइपुग्दा गणतन्त्र परिपक्क दिशातर्फ जाने आधारहरु देखिएको दावी गरे । ‘मताधिकार पाउन १८ वर्ष लाग्छ, नागरिकता पाउन १६ वर्ष लाग्छ, त्यसकारण यो किशोर अवस्थामा छ, शैशव अवस्थामा होइन’ अधिकारीले भने ।
नेपालीले २००७ सालबाट देखेको गणतन्त्रको सपना २०६५ सालमा आएर पुरा भएको भन्दै यसमा सबै नेपालीको स्वामित्व रहेको खुलाए । जनताका अपेक्षा बढी र साधनस्रोत कम हुँदा अपेक्षाकृत प्रगति हुन नसकेको जस्तो देखिए पनि आमूल परिवर्तको दिशामा अगाडि बढेको जिकिर गरे । ‘हजारौं किलोमिटर बाटो पक्की बनेका छन्, सयौं संख्यामा पूल र झोलुङ्गे पूल बनेका छन्, स्वास्थ्य सेवाहरु गुणस्तरिय बन्दै गएका छन । ’ उनले भने ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल भएपनि पुनः जागृत हुन थालेको भन्दै प्रदेश आन्तरिक स्रोतबाटनै आत्मनिर्भर हुनको लागि सर्घषरत रहेको खुलाए । ‘हामीसँग चुनौती भनेको प्रदेश आफ्नो आन्तरिक स्रोतबाट कसरी आत्भनिर्भर हुने भन्नेमा हो, त्यसमा सर्घषरत छौं ।’ उनले थपे ।
तीव्र गतिका साथ हिड्न खोजेको भएपनि संरचना तथा मनस्थिति त्यस अनुसार नपाएको मुख्यमन्त्री अधिकारीको गुनासो थियो । उनले सुशासनप्रति आफ्नो बढी चासो रहेको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेशको प्रशासन हाँक्ने जिम्मालाई कुशलतापूर्वक निर्वाह गर्ने प्रयत्न गरिरहेको बताइन् । ‘काम गर्दै जाँदा सहज–असहज हुन्छ नै । असहजलाई पनि सहजतामा परिणत गर्नसक्नु पर्छ । समस्याको समाधान गर्दै सोही अनुसार अघि बढ्नुपर्छ ।’ उनले भनिन् ।
आफूहरुले नीति, नियम, ऐन, कानून र योजना अनुसार नै कार्य गर्ने गरेको बताइन् । कुनै पनि काम समयमा सम्पन्न हुन न्युनतम प्रक्रिया पुरा गर्नुपर्ने भएकोले प्रक्रियामा केही समस्या भए संसोधन गर्नुपर्ने तर कर्मचारीमाथि मात्र दोष थुपार्न नहुनेमा उनको जोड थियो । ‘काम गर्न न्युनतम प्रक्रिया पुरा गर्नुपर्छ, प्रक्रिया तथा ऐनमा बाधा अड्चन छ भने संसोधन गर्नुपर्छ’ उनले भनिन् ।
सेवाग्राहीको काममा सहजता प्रदान गर्नको लागि ऐन कानून संसोधन गरेर सहज रुपमा सेवा लिने वातावरण बनाउनुपर्ने उनको तर्क थियो । उनले कामलाई प्रक्रियामुखी नबनाइकन नतिजामुखी बनाउनुपर्ने बताइन् ।
गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझाले गणतन्त्रको अनुभूति जनतालाई गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको दावी गरे । स्थानीय निकायका कारण गाउँ–गाउँ विकास पुगेको उनको भनाई थियो । कोरोनाको समयमा गाउँपालिकाले गरेको कार्यले त्यसलाई पुष्टि गर्ने उनले खुलाए । ‘मेरो गाउँपालिकामा म आउँदा १ सय २ घरमा खानेपानी पुगेको थियो, अहिले ९९ प्रतिशत घरमा खानेपानी पुगेको छ । सबै पालिकाले यसरी नै काम गर्नुभएको छ’ उनको दावी थियो ।
पालिकाले कृषि एम्बुलेन्स, एम्बुलेन्स, अस्पताल सञ्चालन गरेका मात्र नभएर पर्यटन तथा पूर्वाधारको क्षेत्रमा समेत उतिकै काम गरेको बताए । ‘राज्यले जतिबेला जुन उद्धेश्यका साथ सकेसम्म सबै सेवा संरचनाहरु जनताको पहुँचमा पु¥याउने भनेर गणतन्त्र स्थापना ग¥यो । त्यसको महशुस स्थानीय सरकारले गराइरहेको छ, एउटा न एउटा सेवा स्थानीय निकायबाट नपाएका घर छैनन् ।’ उनको भनार्ई थियो ।
यति हुँदा हुँदै पनि स्थानीय सरकारले गर्ने काममा सुधार गर्नुपर्ने अवस्थामा भने रहेको बताए । सकारात्मक रुपमा हेर्ने हो भने गणतन्त्रको बलियो खम्बा स्थानीय सरकार भएको उनको तर्क थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गणतन्त्र स्थापनासँगै जनाताले विभेदको अन्त्य भई सबैले समान अवसर प्राप्त गर्छौ भन्ने अपेक्षा गरेको र त्यो आंशिक रुपमा पुरा भएको बताए । ‘यो विगत १६ वर्षको उपलब्धिलाई विभिन्न कोणबाट हेर्न जरुरी छ । नेपालको राजनीतिक प्रणालीलाई बहुलवाद प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास ग¥यो । स्वच्छ प्रतिष्पर्धा गर्न आफूलाई उभ्यायो’ उनले भने ।
शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विना सिलवालले विभेदरहित समाज निर्माण गर्नको लागि गणतन्त्र ल्याएको भन्दै यसका उपलब्धि धेरंै रहेको बताइन् । गणतन्त्रका कारण रोलमोडलको रुपमा महिलाहरु अगाडि आउन सफल भएको बताइन् । ‘गणतन्त अगाडि रोलमोडल महिला हुदैनथ्यौं, हामी एक्लै हुन्थ्यौं । आज हामीसँग प्रशस्त रोल मोडलहरु हुनुहुन्छ । त्यो दृष्टिकोणबाट हेर्दा केही प्राप्त गरेका छौँ भन्ने लाग्छ’ उनले भनिन् ।
गाउँपालिका तथा वडाहरुमा महिला सशक्तिकरणका मुद्दा तथा अपाङ्गताका मुद्दालाई संवेदनशील भएर बुझ्ने र हेर्ने थालिएको उनको भनाई थियो । ‘विद्यालयमा प्रधानध्यापक महिला, सञ्चारमाध्यम, गैरसरकारी संस्थामा महिला नेतृत्व हुन थालेका छन् यी सकारात्मक उपलब्धि हुन् यस्ता उपलब्धि प्रशस्त छन्’, उनले भनिन् ।
उपलब्धिमा मात्रमा चित्त बुझाएर बस्न नहुने भन्दै व्यवस्था फेरियो र अवस्था फेरियन भन्ने ठाउँ पनि प्रशस्त रहेको खुलाउनुभयो ।
‘गणतन्त्रको डेढ दशक : उपलब्धि र चुनौती’ शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार समेत रहेका सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले गरेका थिए ।
अन्तरक्रियाको आयोजना सामाजिक विकास तथा स्वास्थय मन्त्रालय गण्डकी प्रदेशले गरेको हो । गणतन्त्र दिवसको अवसरका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराले मंगलबार विशेष कार्यक्रम समेत आयोजना गर्दैछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





