पोखरा, जेठ १७
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नवउदारवादी अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । गण्डकी प्रदेश सभामा विहीबार विशेष सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका अधिकारीले यस्तो चेतावनी दिएका हुन् । संविधानले समाजवादको आधार बनाउन भनेको छ,उनले भने,‘तर कांग्रेस नेतृत्वको सरकार ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा काटेर अर्कै राख्छ । यसप्रति कटाक्ष गरेर सरकार अगाडि बढ्छ भने त्यो गम्भीर कुरा हो । हाम्रो देश नवउदारवादी अर्थतन्त्रको नाममा अगाडि बढाउने, केहि मुठीभर मान्छे धनी हुने र प्रदेश त्यसको मतियार हुन्छ भने प्रतिपक्षलाई किमार्थ स्वीकार्य हुँदैन ।’
नेता अधिकारीले कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारलेसमेत स्वीकार गरेको ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा सुरेन्द्रराज पाण्डे नेतृत्वको कांग्रेस सरकारलाई अपाच्य हुनु अचम्मको विषय भएको बताए । उनले चेतावनीयुक्त भाषा प्रयोग गर्दै भने,‘बाटो फेर्नैपर्ने आकांक्षाले हामीलाई फरक पार्छ कि याद राख्नुहोला ।’
अधिकारीले आफू नेतृत्वको सरकारलाई कांग्रेसले असंवैधानिक भनेकोमापनि आपत्ति जनाए । तत्कालीन प्रतिपक्षी र अहिलेको सत्तापक्ष कांग्रेसले आफू नेतृत्वको सरकारको बारेमा अफवाह फैलाएको गुनासो गर्दै उनले भने,‘अहिले जुन व्याख्या अनुसार कांग्रेस नेतृत्वमा सरकार बनेको छ । पहिले त्यहि डिभिजन बेञ्चले गरेको व्याख्या अनुसार नै मैलेपनि विश्वासको मत लिएको थिएँ । तर कांग्रेसले हाम्रो सरकारबिरुद्ध असंवैधानिक भनेर अफवाह फैलायो यसबारे कांग्रेसले समीक्षा गरोस् ।’
अधिकारीले आफू कांग्रेसलेजस्तो हामी देखाईदिने पक्षमा नरहेको बताए । आफू देखाउने हैसियतमापनि छैन र धेरै भन्ने पक्षमापनि छैन,उनले भने,‘कसलाई देखाउने हो ? जनता हाम्रा अगाडि छन् । बाटो, पुललगायत बन्या छैन । बेरोजगारी हटेको छैन । औद्योगिक क्षेत्र निर्माण भएको छैन । वित्तीय समानीकरण अनुदानमा संकट आईपरेको छ । त्यसैले यसबारेमा मेरो केहि भन्नु छैन । देखाउने हैसियतमापनि छैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







