जेठ १९ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकारप्राप्त नगर्दा सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको गण्डकी प्रदेशस्तरीय दुईदिने सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले अझै पनि राजनीतिक र वित्तीय सङ्घीयता लागू हुननसकेको बताए । उनले आर्थिक स्रोतको अभावका कारण पुस्तकालयलाई मन फुकाएर सहयोग गर्न नसकेको बताए । “सार्वजनिक पुस्तकालयलाई बचाउनुपर्छ भनेर बौद्धिक जगत् लागेको छ तर प्रदेश सरकारले अधिकारप्राप्त गर्न नसक्दा जुन रूपमा आर्थिक सहयोग गर्न सकिन्थ्यो त्यो सहयोग गर्न सकिएको छैन”, उनले भने ।
प्रविधिको विकासले सबैका हातहातमा मोबाइल हुँदा पुस्तकालयमा पुगेर पढ्नेको सङ्ख्या घट्दो क्रममा रहेकाले अब पुस्तकालयलाई प्रविधियुक्त बनाउन लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोत एवं सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले प्रदेशमा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माण गर्न आफू सधैँ सक्रिय रहेको बताउँदै मन्त्री थापाले शैक्षिक संस्थामा सञ्चालित पुस्तकालयलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालय पोखराका अध्यक्ष्य कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





