गुटको पछि नलाग्न आग्रह गर्दै प्रचण्डले भने : ‘म अहिलेपनि चुनुवाङकै बाटोमा छु, जनक्रान्तिकै बाटोमा छु’


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ २३

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरुलाई गुटको पछि नलाग्न अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको प्रदेश स्तरिय ‘वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘गुटको पछि नलाग्नु होला, लाग्न नदिनुहोला । गुटले कहिं लाँदैन बरु भड्खालोमा लान्छ ।’

प्रधानमन्त्री प्रचण्डले पार्टी भित्र गुट रहेको संकेत गरेपनि त्यो ठूलो रुपमा नरहेको दाबी गरे । पार्टी भित्र ठूलै गुट छ भनेर गुटको पछि नलाग्नुहोला भनेर आफूले नभनेको प्रष्टिकरण दिदै उनले भने,‘पार्टीको पक्षमा, लिडरसीपको पक्षमा, समाजवादको पक्षमा उभिनुभयो भने महान भईन्छ । नत्र कसैले पार्टीमा पद दिन्छु, जागिर लगाईदिन्छु भनेकै आधारमा लाग्नुभयो भने महान भईंदैन ।’ पार्टी एकढिक्का भएर अगाडि बढ्ने हो भने पाँचै वर्ष यहि सरकार जाने सम्भावना रहेको उनले दाबी गरे । ‘तर हामी भित्र भाँडभैलो भयो भनेचाहिं गाह्रो छ । त्यसैले आफूपनि भाँडभैलो नगर्नुहोला । र अरुलाई पनि गर्न नदिनुहोला ।’ उनले मोहन वैद्यहरुले ठूलै संख्या लिएर गएपनि केहि नभएको भन्दै अबपनि त्यसरी जानु गलत हुने बताए । कि अर्को लिडर बनाउने मन छ र तपाईंहरुलाई ? भन्दै प्रचण्डले कार्यकर्ताहरुलाई प्रश्नपनि गरे । त्यसको जवाफ आफैले दिदै उनले भने,‘खोजेर हुने भएको भए त उहिल्यै भईसक्थ्यो ।’ उनले आफूले पार्टी नेतृत्व छाड्ने बेलामा उत्तराधिकारी बनोस् भन्ने चाहेको बताए । उत्तराधिकारी बनोस् भन्ने त मपनि चाहन्छु नि,उनले अगाडि थपे,‘सँधै म नेता भईराख्ने त होईन । अब केहि वर्ष न हो । नेतृत्वलाई धारे हात लगाउन थाल्नुभयो भने तपाईं अरु कसैको हुनुहुन्छ । त्यसरी महान भईंदैन ।’

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरुसँग चाँडै नै एकता वा ध्रुविकरण हुने बताए । मेहनत गरियो भने समाजवादी मोर्चामा भएका पार्टीहरु अशोक राई नेतृत्वको जसपा, महेन्द्र यादवहरुको नेसपा, विप्लव नेतृत्वको नेकपासँग छिटै ध्रुविकरण र एकता हुन्छ,उनले भने,त्यसपछि अहिले गठबन्धनमा रहेका वामपन्थीहरुका बीचमापनि क्रमशः ध्रुविकरणको स्थिति बन्छ ।’ उनले पार्टी फुटाएर जानेहरु प्रायः सबै अहिले पार्टीमा फर्किन तयार रहेको बताए । जो साथीले मैले धोका दियो, गद्दारी ग¥यो वा बिचलित भयो भनेर जानुभयो,उनले अगाडि भने,‘एकाधबाहेक ती सबै साथीहरु पार्टीमा आउन तयार हुनुहुन्छ । अनि नया शीराबाट पार्टीलाई एकताबद्ध बनाएर, नया शीराबाट समाजवादी क्रान्तिलाई अगाडि बढाउनका लागि मपनि स्वागत गर्न तयार छु ।’

प्रधानमन्त्री प्रचण्डले चुनुवाङ बैठककै निर्णयमा अहिलेपनि आफू हिंडिरहेको बताए । केहि साथीहरुलाई प्रचण्डले क्रान्तिलाई धोका दियो, बिचलित भयो वा गद्धारी ग¥यो भन्नेपनि भयो,उनले भने,‘तर घटना क्रमले के पुष्टि ग¥यो ? चुनुवाङले जे भनेको थियो । त्यो आज भइरहेको छ । जो साथीहरुलाई प्रचण्ड सहि थिएनन् भन्ने लाग्यो ती साथीहरु सहि थिएनन् । यसलाई घटनाक्रम र परिणामले पुष्टि गर्दै गयो ।’ उनले जनयुद्धको नेतृत्व गर्दा होस् वा बृहद शान्ति सम्झौतामार्फत संविधानसभाहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्दा र अहिले सुशासन, सामाजिक न्याय र समृद्धिको पेचिलो अवस्थामापनि क्रान्तिको बाटो आफूले नछाडेको उनले जिकीर गरे । उनले भने,‘पार्टी र देशको नेतृत्व गर्दा के कन्फिडेन्स छ भने म चुनुवाङकै बाटोमा छु । जनक्रान्तिकै बाटोमा छु ।’ उनले अहिले आफूले गरेको कर्मले अर्को चुनावसम्ममा माओवादी नभई हुँदो रहेनछ भन्ने जनताको मनमनमा पार्ने बताए । त्यसपछि माओवादी केन्द्र १ नम्बर पार्टी बन्ने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन दिर्घकालीन नभएकाले नया समीकरण बनाउनुपरेको बताए । प्रधानमन्त्रीको कुर्सीलाई दाउमा राखेर आफूले वाम समीकरणको जोखिम उठाएको उनको भनाई छ । कांग्रेससँगको गठबन्धनताका जति निस्कन खोज्यो त्यति भासिने खतरा देखेपछि वाम समीकरण बनाउन लागिपरेको उनले प्रष्टिकरणसमेत दिए । ‘प्रधानमन्त्रीको कुर्सी बचाउनका लागि दिनप्रतिदिन ओरालो लाग्ने बाटो हिंड्नु हुँदैन’–उनले भने । तर यो चुनौतिरहित नभएको बताउँदै उनले भने,‘ जोखिम त छ । चुनौतिपूर्ण छ । यो बाटोमा हिंड्दा पार्टी र नेताकाबिरुद्ध ठूलठूला दुर्घटना हुनपनि सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले अहिलेको गणतन्त्र बुर्जुवा संसदीय गणतन्त्र नभएको बताए । बुर्जुवा संसदीय गणतन्त्रमा समावेशी, समानुपातिक प्रतिनिधित्वपनि नहुने र अहिलेकोजस्तो प्रतिष्पर्धापनि नहुने उनको दाबी छ । उनले अहिलेको संविधान बुर्जुवा र कम्युनिष्ट दुबै वर्गको सम्झौताको दस्तावेज भएको टिप्पणी गरे । अहिलेको संविधानमा बुर्जुवा र सर्वहारा वा कम्युनिष्टहरु दुबैले उपयोग गर्नसक्ने तत्वहरु छन,उनले भने,‘यसलाई बुर्जुवाहरुले उपयोग गरेर पूरै देशलाई बुर्जुवाकरण वा प्रतिक्रियावादीकरण गर्नसक्ने ठाउँपनि छ । अनि सर्वहारा वर्ग वा कम्युनिष्टहरु वा क्रान्तिकारीहरुले आफ्नो हित अनुकुल उपयोग गर्दै समाजवादको यात्रामापनि लैजानसक्ने तत्व र भ्रुणहरु यो संविधानमा छन् ।’

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वामपन्थीहरुबीच ध्रुविकरण अहिलेको आवश्यक्ता भएको बताए । तर त्यसको नेतृत्व माओवादीले गर्नुपर्ने उनको भनाई थियो । माओवादीले नेतृत्व नगर्ने हो भने समाजवादी क्रान्ति पूरा नहुने भन्दै उनले भने,‘सबै वामपन्थीहरुबीच एकता गर्ने र त्यसको नेतृत्व माओवादीले गर्नुपर्छ । त्यसो भयो भनेमात्र समाजवादी यात्रा तय गर्न सकिन्छ ।’

पार्टीका महासचिव देव गुरुङलेपनि सबै वाम, एक ठाम बनाउन आवश्यक रहेको बताए । त्यसका लागि माओवादीले पहलकदमी लिनुपर्नेमा उनले जोड दिए ।

सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालो झण्डा
पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले बुधबार पोखरा सभागृहमा आयोजना गरेको प्रदेश स्तरिय ‘वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रममा सहभागि हुन जाने क्रममा पोखराको सूर्य दर्शन सहकारीका पीडितहरुले कालो झण्डा देखाएका हुन् । कार्यक्रम स्थल पोखरा सभागृह गेट अगाडि पुगेका उनलाई सहकारी पीडितहरुले ‘सहकारी पीडितहरुलाई न्याय दे, ‘बचतकर्ताहरुको बचत रकम फिर्ता दे’लगायतका नारापनि लगाएका थिए ।

कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सूर्य दर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले गरेको हस्तक्षेपका क्रममा दुई जना सहकारी पीडित घाईतेसमेत भएका छन् । ‘प्रहरीको कुटाईबाट हाम्रा सहकारी पीडितहरु ७८ वर्षिय भीमप्रसाद चपाई र ३० वर्षिया अनुराधा श्रेष्ठ घाईते भएका छन्’–उनले भने ।

प्रचण्डले भने सहकारी पीडितहरुले नबुझीकन आफूलाई कालो झण्डा देखाएको गुनासो गरे । सरकार सहकारी पीडितको पक्षमा लडिराखेको तर सहकारी पीडितले भने नबुझी कालो झण्डा देखाएर ब्लण्डर मिस्टेक गरेको उनले टिप्पणी गरे । तपाईंहरुले नबुझीकन कालो झण्डा देखाउनु भो,उनले भने,‘जुन सरकार तपाईंहरुको पक्षमा लडिराख्या छ र भर्खरै ५ लाखको दरले तिपाईंहरुको बचत फिर्ता गर्ने जिम्मा लिइएको छ । त्यो सरकारलाई कालो झण्डा देखाएर ठूलो ब्लण्डर गर्नु भो । यस्तो बुद्धि तिर नलाग्नुहोला ।’

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले पार्टीलाई बलियो बनाउन अहिले गण्डकीमा ३ महिने संगठन सुदृढिकरण अभियान सञ्चालन भइरहेको बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।