प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित




जेठ २४ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोप्रति आभार व्यक्त गरे । उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि जानकारी गराए ।
राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालले महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताए ।

जलवायु परिवर्तनलगायत समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्तिलगायत विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्यूयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।