गण्डकी प्रदेशस्तरीय फुटबल : कास्की र तनहुँ उपाधि नजिक


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधि नजिक पुगेका छन् ।

पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थपे ।

उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए ।

यता एक अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गरी उपाधि नजिक पुगेको छ । कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे । किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए ।

सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच प्राप्त गर्न सफल रहे ।

फाइनल खेल सोमबार दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।