फडिन्द्रले फ्लोर क्रस गरेपछि पाण्डेले पाए विश्वासको मत

- मध्यावधी रोक्न विश्वासको मत दिएको फडिन्द्रको स्पष्टोक्ती, पदमुक्त गर्ने माओवादीको तयारी


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ २८

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् ।

पाण्डेलाई सत्तारुढ नेपाली कांग्रेसका २७ तथा राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङेलेसमेत गरेर ३१ सांसदले विश्वासको मत दिए । सो संख्या प्रदेश सभामा रहेका सदस्यहरुको बहुमत भएकाले पाण्डेले विश्वासको मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरे ।

पाण्डेले मागेको विश्वासको मतको विपक्षमा नेकपा एमालेका २२ र नेकपा माओवादी केन्द्रका ६ सांसद गरेर २८ जना उभिए ।

मुख्यमन्त्री पm्लोर क्रस गरेर विश्वासको मत दिन लागेका बेला फडिन्द्र देवकोटालाई विपक्षी सांसदहरुले रोकने प्रयास गरेका थिए । तर मार्सल लगाएर सो प्रयास असफल पारिएको थियो । मार्सल लगाएर फ्लोर क्रस गर्न दिएको भन्दै उनीहरुले केहिबेर नाराबाजीसमेत गरेका थिए । उनीहरुले दलीय व्यवस्था जिन्दावाद, दल विरोधी गतिविधि मुर्दावाद, ह्वीप उलंघन गर्न पाईंदैन लगायतका नाराहरु लगाएका थिए ।

यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको स्थायीत्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे । प्रदेश सरकार अस्थिर बन्दा जनतामा निराशा र असन्तुष्टी बढेको भन्दै उनले भने,‘डेढ वर्षमा चार पटक सरकार फेरबदल हुनुलाई नागरिकले अस्थिरताका रुपमा लिएका छन् । सरकारको नेतृत्व कसले गरेको छ ? कुन पार्टीले गरेको छ ? भन्दापनि प्रदेश सरकारको स्थायीत्व के छ ? प्रदेश संरचनाले कसरी काम गरिरहेको छ भन्ने नागरिकले नजिकबाट नियालिरहेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा पुग्दा संसद विघटन हुने खतरा रहेकोपनि बताए । ‘त्यसैले उपधारा ३ मा बनेको सरकारलाई उपधारा ४ वमोजिम विश्वासको मत दिनूस्’–उनले भने । बरु प्रदेशको स्थायीत्व र समृद्धिका लागि दलभन्दा माथि उठेर पार्टी र नेताहरुलाई एकाकार हुन उनले आग्रह गरे ।

फ्लोर क्रस गरेर विश्वासको मत पाएपछि नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कांग्रेसले सत्ताका लागि संसदको दुरुपयोग गरेको बताए । कांग्रेसलाई सत्ताबाहेक केहिपनि चाहिएको रहेनछ,उनले भने,‘शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संसदमा प्राडो र पजेरो काण्ड भएको थियो नि । हो त्यो आज गण्डकीमा दोहोरियो ।’ यसअघि विश्वासको मत सम्बन्धि प्रस्तावमाथिको छलफलमा भाग लिदै दलीय व्यवस्थामा फ्लोर क्रस गरेर अर्को दलका नेतालाई मत हाल्नु संसदीय विकृति भएको अधिकारीले बताए । नेसपा सांसद फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्नसक्ने पूर्व आंकलनतर्फ ईंगित गर्दै उनले भने,‘दलसम्बन्धी प्रबन्ध कसरी व्यवस्थित गर्ने भन्ने ऐनले प्रष्ट गरेकाले पद र सत्ताका लागि जेपनि गर्ने विकृतितर्फ जानु हुँदैन । यदि त्यस्तो हुन्छ भने एमालेलाई त्यो मान्य हुँदैन ।’ उनले फ्लोर क्रस गरेर मत दिएपनि त्यो फिर्ता हुने र केहि समयमै पुनः विश्वासको मत माग्नुपर्ने अवस्था आउनेतर्फपनि अधिकारीले सचेत गराए ।

फ्लोर क्रस गरेका नेसपा सांसद देवकोटाले भने मध्यावधी निर्वाचन टार्नका लागि आफूले विश्वासको मत दिएको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,‘मैले विश्वासको मत नदिएको भए मध्यावधी निर्वाचन हुने खतरा हुने थियो । त्यसैले प्रदेश सभाको स्थायीत्वका लागि र मध्यावधी टार्न पार्टी केन्द्र र प्रदेशको निर्णय अनुसार नै विश्वासको मत दिएको हुँ ।’

फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले कारवाही गर्ने

फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेसपा सांसद फडिन्द्र देवकोटालाई माओवादीले कारवाही गर्ने भएको छ । माओवादीको ह्वीप उलंघन गरेर फ्लोर फस गर्दै कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएकाले उनलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले जनाएको छ ।

देवकोटा माओवादी चुनाव चिह्नबाट निर्वाचित सांसद हुन् । प्रदेश सभामा उनलाई माओवादी संसदीय दलकै सदस्यका रुपमा राखिएको छ । त्यसैले उनीमाथि ह्वीप लाग्ने माओवादीको दाबी छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने,‘कानुनले स्पष्ट भनेको छ जुन दलको चुनाव चिह्नबाट जितेको हो त्यो दलको ह्वीप लाग्छ । त्यसैले माओवादीको चुनाव चिन्ह लिएर जितेपछि माओवादी संसदीय दलको सदस्य हुनुहुन्छ । त्यसको उलंघन गर्नु भएकाले उहाँमाथि कारवाही हुन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।