म्याग्दी स्थित विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित




म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।

बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए ।

“दुई जना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौँ”, उनले भने, “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौँ ।” रङ लगाउने सीप दैनिक जीवनयापनका अलावा पढाइ पूरा गरेपछि व्यवसाय सञ्चालन र रोजगारीका क्रममा उपभोगी हुने विद्यार्थीले बताएका छन् । डिलबहादुर किसान र मुकेश शाहले तालिम दिए । तालिमका क्रममा विद्यार्थीले विद्यालयको भवनमा रङ लगाएर चिटिक्क पारेका छन् । रङ खरिद र प्रशिक्षकलाई भत्ता खर्च विद्यालयले उपलब्ध गराएको थियो

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन हामी सक्छाँै, हामी गर्छौं कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । हालसम्म दुई हजार जनाभन्दा बढी विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका छन् ।

‘हाउस वायरिङ, प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।