सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक: गण्डकी मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित




फाइलत तस्विर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन । गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पु¥याइएको जानकारी दिए ।

उनले भने,“समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । मैले संसदीय गतिविधिलाई प्रभावकारी बनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरेको छु । ”

पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारिरहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यसका लागि सिङ्गो सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्छ भने । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक छ भने ।

राजनीतिक दल र सञ्चार क्षेत्रबीच राम्रो सहकार्य हुनसकेमा त्यसले समग्ररुपमा दल र व्यवस्थालाई बलियो र जिम्मेवार बनाउन भूमिका खेल्ने उनको विश्वास थियो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता तथा पूर्वमन्त्री सुशीला सिंखडाले सत्यतथ्य समाचार सम्प्रेषणका माध्यमबाट पत्रकारिता क्षेत्रले समाजलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याए ।

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिए।

पत्रकार रामजी दाहाल, पूर्वप्रदेशसभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकाल, प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । तालिममा पोखरामा संसदीय समाचार सङ्कलन गर्दै आएका करिव ५० जना पत्रकारको सहभागिता छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।