युनाइटेड क्लबद्वारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण


     एभरेस्ट आवाज    
     असार ८ गते २०८१ मा प्रकाशित




पोखरा ।युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोँचलाई हटाएर सकारात्मकता तर्फ सवैले जोड दिनुपर्ने उनको भनाइ रहेको थियो ।


त्यस्तै अर्का प्रशिक्षक डाक्टर क्यान्सर रोग विशेषज्ञ वरिष्ठ डाक्टर दिपेन्द्रमान श्रेष्ठले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर वढ्दो मात्रामा रहेकाले त्यस तर्फ महिला दिदीबहिनीहरु सचेत हुन आवश्यक रहेको बताए ।

महिला दिदी बहिनीहरुले आफ्ना समस्यालाई चिकित्सक समक्ष प्रष्ट राख्न हिच्किच्याउने भएका कारण महिला दिदीबहिनीहरुमा पाठेघरको क्यान्सर देखा पर्दा समेत रोग लुकाएर राख्ने प्रचलन पछिल्लो समय देखिएको उनको भनाइ रहेको थियो । त्यसैगरी धुम्रपान, विभिन्न खानपानका कारण समेत विभिन्न प्रकारका क्यान्सरहरु लाग्ने गरेकाले समय समयमा यसको बारेमा चेकजाँच गर्न सके यसबाट बच्न सकिने डाक्टर श्रेष्ठले बताए ।

त्यस्तै श्रीकृष्ण मन्दिर सञ्चालक समितिका कोषाध्यक्ष जयन्त कुमार राजभण्डारीले पछिल्लो समय मानिसहरु तनाबका कारण डिप्रेशन वढिरहेको र क्यान्सरका विरामीहरु समेत वढिरहेको अवस्थामा युनाइटेड क्लवले तनाव ब्यवस्थापन र क्यान्सर रोग सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाइटेड क्लबको हरेक काम स्रहानिय रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै माछापुच्छ्रे महिला समुहका अध्यक्ष जुना माया बोहोराले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम गर्दै आइरहेकोमा अहिलेको विद्यमान चुनौतीको रुपमा रहेको तनाव ब्यवस्थापन र क्यान्सर रोगको बारेमा प्रशिक्षण गराएकोमा आभार प्रकट गरे ।

सो अवसरमा युनाइटेड क्लबले डाक्टर योगी बिकासानन्दले पोखरामा स्थापना गर्न लागेको आश्रमको सहयोगार्थ नगद ५० हजार रुपैया प्रदान गरिएको थियो ।

त्यस्तै एनिमल लभर गु्रप पोखराले युनाइटेड क्लबलाई पोखरा १० भित्र सडकमा आश्रित जनावरहरुलाई लक्षित गरी खाना र पानी वितरण गर्नका लागि ४ वटा भाँडा समेत प्रदान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।