पहिरोमा परेर कास्कीमा दुई बालबालिकाको मृत्यू


     एभरेस्ट आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित




पोखरा, असार १२

पहिरोमा परेर कास्कीमा दुई बालबालिकाको ज्यान गएको छ । गएराती देखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परेर कास्कीको मादीमा एक बालिका र पोखरामा १ बालकको मृत्यू भएको हो ।

मंगलबार रातीदेखि परेको अविरल वर्षाले पोखरा महानगरपालिका वडा नम्बर–२७ आरुपाटामा दुई तले कच्ची घर पहिरोले पुरिदा ३ वर्षीय बालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार राती एक्कासी आएको पहिरोले आरुपाटास्थित हरि सुनारको घर पुरिदा उनका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यू भएको छ । राती सुतिरहेका बेला पहिरो आएकाले उनको घटना स्थलमै मृत्यू भएको हो । पहिरोले घरधनी सुनारका श्रीमती २७ वर्षीया ऋतु सुनारपनि घाइते भएकी छन् । घाईते ऋतुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा भर्ना गरिएको छ । उनको अवस्थापनि गम्भीर रहेको प्रहरीले बताएको छ । पहिरोमा परेका घरधनी हरि सुनार र उनको ९ वर्षीया छोरी अञ्जली सुनारको भने सकुशल उद्धार गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

त्यस्तै, पहिरोमा परेर मादी गाउँपालिका चितेपानीकी १३ वर्षीय आयुश्मा रानाभाटकोपनि मृत्यू भएको छ । अविरल वर्षापछि राती करीब पौने २ बजे घर पछाडिको ढिस्को खस्दा हजुरआमासँगै सुतेकी आयुस्मा रानाभाटको मृत्यू भएको छ । पहिरो गएलगत्तै उद्धार थालिएपनि बालिका आयुस्माको घटनास्थलमै मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । नातीनीसँगै सुतेकी ७० वर्षीया लालमाया बञ्जारालाई भने सकुशल उद्धार गरिएको डिएसपी शर्माले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।