महालेखाको प्रतिवेदनप्रति मणिपालको आपत्ति, अनावश्यक रुपमा विवादमा तान्न खोजेको गुनासो


     एभरेस्ट आवाज    
     असार १४ गते २०८१ मा प्रकाशित




पोखरा, असार १३

पोखराको मणिपाल शिक्षा अस्पतालले महालेखा प्ररीक्षकको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा मणिपालले करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै सो कर असुल उपर गर्न भनेकोप्रति मणिपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो । उसले समयमा काम नगरिदिएर राज्यले पटक÷पटक दुःख दिएको बताएको छ । साथै महालेखाले स्वास्थ्य संस्थालाई अनावश्यक रुपमा विवादमा तानेर मानमर्दन गर्न खोजेकोसमेत मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

मणिपालले महालेखा परीक्षकको प्रतिवेदन हल्का ढंगले तयार गरेको टिप्पणी गरेको छ । एकातिर अंक नै तोकेर राजस्व असुल्न भनेको र त्यहि प्रतिवेदनमा पुनः कर यकीन गर्न आदेश दिएको भन्दै मणिपालले यसो हुनुमा गहिरो अध्ययन नगरी प्रतिवेदन आएको स्पष्ट हुने ठहर गरेको छ ।

नेपालको कर प्रणालीमा स्वघोषणा पछि परीक्षण हुने कानूनी व्यवस्था भएपनि त्यसलाई महालेखाले बेवास्ता गरेको मणिपालको आरोप छ । उसले भनेको छ,‘यस्तो व्यवस्थाका बाबजुद सरोकारवाला निकायलाई कुनै सोधपुछ नै नगरी महालेखाले स्वास्थ्य सेवामा देशको अग्रणी स्थानमा रहेको संस्थालाई आक्षेप लगाउने कार्य निन्दनीय र खेदजनक छ । मणिपाल यस कार्यप्रति आपत्ति जनाउँछ ।’

पछिल्लो समय पोखरा महानगरपालिकाले हालसम्म पटकपटक दिएको निवेदनको आधारमा राजस्व परामर्श समिति, प्राविधिक समितिसमेतको र स्थानिय स्वायत्त शासन सञ्चालन ऐन २०७४ को दफा ४२ (घ) मा नक्सापास नभएका भवनलाई मात्र ३ गुणा राजश्व लिई अभिलेखिकरण गर्ने व्यवस्था गरेको छ । तर मणिपालको हकमा २०५३ मा पेश भई अस्थाई, स्थायी इजाजत लिई सकिएकोले संघीय सरकारको बस्ती विकास मापदण्ड २०७२ को बुँदा नं. ८ प्रावधान लागु हुनेसमेत देखिएको विज्ञप्तीमा जनाइएको छ । पोखरा महानगरपालिकाले कर असुल्ने सिलसिलामा विगतमा नक्सा पास र सम्पन्नता लिनका लागि बुझाएका शुल्कको समेत वेवास्ता गरी तत्कालिन समयमा निर्माण भएका भवनलाई अहिलेको दर रेटमा पुनः कर निर्धारण गरेर १ करोड ७६ लाख रुपैयाँ तिराउने निर्णय गरेको पनि विज्ञप्तीमा जनाइएको छ ।

मणिपाल नेपालको पहिलो नीजि क्षेत्रको मेडिकल कलेज हो । अस्पतालका अनुसार २०५३ असार १० मा तत्कालिन पोखरा नगरपालिकाबाट नक्सा स्वीकृत गरी भवन निर्माण भईरँहदा पोखरा नगरभित्र तीन तले भन्दा माथिको भवन निर्माण स्वीकृत गर्ने अधिकार तत्कालिन पोखरा नगरपालिकालाई नभएकोले नगर विकास समितिले विशेष निर्णय गरी २०५४ मंसिर १ गते थप ४ तलाको नक्सा स्वीकृती पाएको थियो। सबै प्रकृया पुरा गरी निमार्ण सम्पन्न भए पश्चात २०५७ जेठ १ मा निमार्ण सम्पन्नको प्रमाणपत्र पाउन तत्कालिन पोखरा उपहानगरपालिकामा निवेदन दिएको पनि अस्पतालले बताएको छ ।

अस्पतालका अनुसार २०५८ भदौ १ मा पनि भवनको क्षेत्रफल समेत खुलाई निमार्ण सम्पन्न माग गरिएको थियो। दोस्रो पटक माग गर्दा पनि सम्पन्नताको प्रमाण पत्र नदिईएकाले २०५९ जेठ १६ मा निर्माण सम्पन्न माग गरिएको थियो। पटकपटक माग गर्दा पनि सम्पन्नको कागज नदिने तत्कालिन नगरपालिका प्रशासनले नदिनुको कारण भने कहिल्यै नखुलाएको अस्प्तालको भनाई छ।

भवन सम्पन्नताको कागज नदिए पनि २०५७ सालदेखि हालसम्म भवनको घर जग्गा तथा सम्पती कर भने असुलिदै आएको अस्पतालको भनाई छ। मणिपालले घर जग्गा तथा सम्पत्ति कर वापत हालसम्म ७ करोड ४७ लाख रुपैयाँ भन्दा बढी तिरी अध्यावधिक गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।