क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता : मन्त्री थापा


     एभरेस्ट आवाज    
     असार १५ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् ।

शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताएका हुन् । “रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ”, उनले भने, “खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।”

११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उनले गराए ।

क्यान्सर, मुटुरोग जस्ता बिरामीका लागि उपचारको राम्रो सुविधा नहुँदा बाहिर जानुपर्ने अवस्था सिर्जना भएको र प्रदेश सरकार यसको व्यवस्थापनमा लागिरहेको उनले बताए ।

जग्गा प्राप्तिको समस्याका कारण उक्त रोग सम्बन्धि विशिष्ट श्रेणाीको अस्पताल बनाउन नसकिएको र उच्चस्तरिय समिति बनाई जग्गाको खोजी कार्य भइरहेको भनाई उनको छ ।

मन्त्री थापाले क्यान्सर बिरामीलाई संघ सरकारबाट दुई लाख र प्रदेश सरकारले एक लाख उपलब्ध गराउँदै आएको बताए । जसबाट बिरामीलाई उपचार खर्च गर्न सहज भएको अभिव्यक्ति उनको छ ।

नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जनतालाई स्वस्थ बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । रोग लागेर उपचारमा सहयोग गर्नुभन्दा रोग लाग्नै नदिने कार्यक्रम ल्याउन उनको आग्रह छ । नेपाल क्यान्सर रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको परिक्षण समेत गरिएको छ ।

नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शक्ति प्रधानाङ्ग र संचालन महासचिव किरण बिजुक्छेले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।