
असार १५ पोखरा । गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारिता चाहिने बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित असारे १५ आर्थत् धान दिवसको शुभकामना आदान प्रदान कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता एवं सांसद बरालले नियम र कानुन अनुरुप उपभोक्ताको सेवा गर्न आवश्यक भएको बताए ।
उनले उच्च मनोबल बोकेर कर्मचारीले सेवा गर्दा कुनै समस्या नहुने भन्दै पोखरामा पानीको माग बढेसँगै आपुर्तिको व्यवस्था मिलाउन संस्थानलाई सुझाव दिए । गण्डकी प्रदेशबाट गर्नु पर्ने सहयोग गर्न आफू तयार रहेको बताएका बरालले कर्मचारीको समस्या समाधान पहिलो कर्तव्य भएको बताए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत आम कर्मचारीको बृहत्तर हित गर्नु पर्ने समय आएको बताए । अध्यक्ष धमलाले कर्मचारी सेवा शर्त विनियमावली अति नै आवश्यक रहेको बताउँदै आगामी साउन महिनामा प्राप्त नभए आन्दोलनको तयारीमा रहन इकाई समितिलाई अनुरोध गरे । संस्थानमा क्रियाशील युनियनहरु एक भएको बताएका धमलाले कर्मचारीमा अनुशासन, दक्षता र उपभोक्ता मैत्री भाव हुनु पर्नेमा जोड दिए ।
ईकाई समितिका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको दहिच्युरा खाने पर्वलाई निरन्तरता दिएको सभामा ईकाई समितिका उपाध्यक्ष रेखा केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने इकाई सदस्य विक्रम बरुवालले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रशासन प्रमुख एवं संघका सल्लाहकार विष्णुप्रसाद रेग्मीले सवै कर्मचारीको एकताले मात्र कार्यालय सञ्चालन हुने भएकाले अनुशासित र मर्यादित बन्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारीले संकृति जोगाउने पर्वलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै एकताबद्ध भएर सस्ंथानको समस्या संयुक्त रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, सहायक प्रशासन अधिकृत शिवराज भण्डारी, विन्ध्यवासिनी इकाई प्रमुख प्रकाश सिलवाल, सव–इन्जिनियर लक्ष्मण पाण्डे, अखिल नेपाल सरकार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका गण्डकी प्रदेश संयोजक हरि पौडेल लगायतले असारे पन्ध्रको शुभकामना दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।