गार्डेन दर्पण लोकार्पण


     एभरेस्ट आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ ।

दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए ।

अतिथि लालचनले सेवाका स्तरीय कार्यक्रम गर्न संख्या धेरै आवश्यक नपर्ने बताउँदै ४०–५० जना सदस्य रहेका क्लबले भन्दा सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत राखे ।

समाजसेवी यमबहादुर गुरुङले सेवाका क्षेत्रमा क्रियाशील रहँदै गर्दा सेन्ट्रल गार्डेनसँग जोडिन पाउनु आफूका लागि खुसीको कुरा भएको बताए ।

क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले विभिन्न क्लबले प्रकाशित गर्ने विभिन्न प्रकृतिका स्मारिकाको सिको भन्दा केही सिकाउन सकियोस् भन्ने उद्देश्यले किताब प्रकाशित गरिएको जानकारी दिए । पूर्व अध्यक्ष मिना रानाभाटले क्लबलाई आफूले एउटा सेवाको सुन्दर मञ्चा रूपमा पाएको बताइन् ।

दर्पणका प्रधान सम्पादक असफल गौतमले हरेक व्यक्तिको व्यक्तित्व बाहिरी आवरणबाट नभएर चेतनाको स्तरबाट झल्कने भएकाले सभ्य समाज निर्माणमा चेतनशील समूह जागरुक हुन आवश्यक रहेको बताए ।

क्लबले विभिन्न कार्यक्रम सफल पार्न सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई सम्मानसमेत गरेको छ । यसरी सम्मानित हुनेमा नेलम्बो नेपाल, डागर स्मृति प्रतिष्ठान, समाजसेवी यमबहादुर गुरुङ, सञ्जिपबहादुर बराल, ओमकृष्ण गुरुङ, महेशकुमार विश्वकर्मा रहेका छन् ।

लायन वर्ष २०२३÷२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबका सबै साथीहरूको सक्रिय साथ र सहयोगले उत्कृष्ट गतिविधि सञ्चालन गर्न सकेको बताए । सोही समारोहबीच क्लबले नवनिर्वाचित अध्यक्ष ई. सुजित बिजुक्छेलाई माइन्युट हस्तान्तरण तथा संस्थापक सदस्यलाई प्रोत्साहन सम्मानसमेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।