‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार सात सय ज्येष्ठ नागरिक लाभान्वित


     एभरेस्ट आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित




म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ७० वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि सुरु गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार सात सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । नगरका प्रत्येक वडाका घरघरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठ नागरिकसँगै अन्य पनि लाभान्वित भएका छन् ।

ज्येष्ठ नागरिक, शारीरिक रुपमा अपाङ्गता भएका तथा अशक्त तथा दीर्घरोगीलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बन्दैगएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकाको प्रमुखमा सुरत केसी र उपप्रमुखमा ज्योति लामिछानेसहित निर्वाचित भएपछि नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हो ।

विसं २०७८ को जनगणनाअनुसार बेनी नगरपालिकाको कूल जनसङ्ख्या ३२ हजार ६ सय ९७ रहेको छ । पुरुषको संख्या १५ हजार तीन सय ६१ र महिला १७ हजार तीन सय ३७ छन् । दश वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ । प्रत्येक महिना एक पटक बेनीका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी घरघरमा पुग्छन् ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा सो कार्यक्रम कार्यान्वयन गर्न कूल रु आठ लाख ८० हजार विनियोजन गरिएको छ । सो कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अशक्त बिरामी प्रत्यक्ष रुपमा लाभान्वित भएका बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिए ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीका अनुसार उक्त कार्यक्रमबाट करिब एक हजार सात सय ज्येष्ठ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।