
पोखरा, असार २२
पोखरामा यस वर्ष भदौ ८ गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा तायाःमचा नृत्यसमेत समावेश गर्ने प्रचलन छ । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।

‘संस्कृति परम्पराको प्रवद्र्धन ः पहिचानको संरक्षण भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको तयारी शुरु भएको आयोजक नयाबजार सांस्कृतिक समितिले जनाएको छ । प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले प्रतियोगिताका लागि प्रायोजक खोज्नेदेखि कचाः खलहरुलाई पत्राचार गर्नेलगायतका कार्यहरु भइरहेको बताए । ‘यस वर्ष तयारी चाँडै शुरु गरेका छौं । कार्यक्रमलाई भव्य बनाउन सबै एकजुट भएर लागेका छौं’–उनले भने । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर ९ को विशेष सहयोग रहने उनले जानकारी दिए । प्रतियोगितामा यस वर्ष ३६ टिम सहभागी हुने अनुमान गरिएको मूल संयोजक शम्भुलाल श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी कला र संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष तायाःमचा प्रतियोगिता गर्नेगरेको बताए । ‘प्रतियोगिता केवल प्रतियोगिताका लागि र पुरस्कारका लागि मात्र आयोजना गरिएको होईन । संस्कार, संस्कृति र कला जगेर्नाका लागि गरिएको हो । यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो’–उनले भने ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले कला, संस्कार, संस्कृतिलगायतका कुराहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानिय सरकारको भएकाले वडाले प्रतियोगिताका लागि सहयोग गरेको बताए । उनले भने,‘यस्ता कार्यक्रममा सहयोग गर्ने जिम्मेवारी स्थानिय सरकारको हो । हामीले जिम्मेवार भएर सहयोग गरेका हौं । बरु यस्ता कार्यक्रमलाई मन जोड्ने कार्यक्रमका रुपमा विकास गर्नपनि पहल गर्नुपर्छ ।’
प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व.हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।