पहिरोले तीनजनाको मृत्युपश्चात शोकाकूल छ तनहुँको काउरे गाउँ


     एभरेस्ट आवाज    
     असार २५ गते २०८१ मा प्रकाशित




तनहुँ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उहाँसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको हो ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् ।

अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर बेपत्ता भएका थिए । बेपत्ता दुवैजनाको शव फेला परेपछि अहिले गाउँ शोकमा डुबेको नगरप्रमुख पण्डितले बताए ।

“अहिले मृतकका परिवारलाई सान्त्वना दिन स्थानीय, शुभचिन्तकको घुइँचो लागेको छ । घट्नाले सिङ्गो नगर शोकमा डुबेको छ”, उनले भने । नगरप्रमुख पण्डितका अनुसार नगरपालिकाको तर्फबाट घाइते सबैको उपचार तथा मृतकका परिवारलाई किरियाखर्च दिने निर्णय भएको जानकारी दिए ।

मृतक तीनै जनाको शव परीक्षण गरी आफन्तको जिम्मा लगाई जातीय पराम्परा अनुरुप दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार नेपालीको शनिबार, बाँस्तोला र भण्डारीको आइतबार बिहान खोजीका क्रममा शव भेटिएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी तथा उद्धारमा जुटेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।