बागलुङको जैमिनीमा बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’


     एभरेस्ट आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित




बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।

जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे । उनले भने, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ”

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ उनले बताए । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।”

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।