सुरक्षित गर्भपतनका लागि सचेतना आवश्यक


     सन्देश श्रेष्ठ    
     असार ३० गते २०८१ मा प्रकाशित





पोखरा, असार ३०

नेपालमा सुरक्षित गर्भपतन गर्ने अधिकार सुनिश्चित छ । तर अधिकांश मानिसहरु असुरक्षित गर्भपतन गराइरहेका हुन्छन् ।

सुरक्षित गर्भपतन गराउनकै लागि भनेर गर्भपतन सेवा सञ्चालन गर्ने गरिएका छन् । तर सिमित ठाउँ भएका कारण त्यहाँ मानिस कम पुग्छन् । बरु अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकमा गएर गर्भपतन गराउने र औषधी पसलबाट गर्भपतन गराउने औषधी लगेर असुरक्षित गर्भपतन गर्ने क्रम झन् बढ्दो छ ।

यसको मूल कारण भनेको सामाजिक संरचना र गर्भपतनलाई हेर्ने दृष्टिकोण हो । किनकी नेपालमा गर्भपतन गराउनु हुन्न भन्ने संकिर्ण मानसिकताले जकडिएको समाज छ । एकातिर धर्म र परम्परासँग जोडेर भ्रुण हत्या गर्नुहुन्न भन्ने र अर्कोतर्फ जसरीपनि छोरा चाहिन्छ भन्दै छोरी जन्माउन अभिसप्त समाज छ । यस बिचबाट गुज्रिएको ढोंगी समाजका कारण मानिसहरु असुरक्षित गर्भपतन गराउने गर्छन् । सामाजिक अभियन्ता बिना सिलवाल ढोंगी समाजका कारण महिलाहरुले असुरक्षित गर्भपतन गराईरहेको बताउँछिन् । उनी भन्छिन्,‘मान्छे आधुनिक भए तर समाज ढोंगी छ । यसका कारण समाजले देख्नेगरी सुरक्षित गर्भपतन गर्न चाहँदैन तर क्लिनिकमा गएर असुरक्षित गर्भपतन भने गराईरहेका छन् ।’ यसले महिलाको शरिरमाथि खेलवाड भइरहेको उनको भनाई छ ।

सामाजिक विषयवस्तुमा कलम चलाउँदै आएकी रुविना क्षेत्रीपनि महिलाहरु ढोंगी समाजको शिकार भइरहेको टिप्पणी गर्छिन् । चाहना सुरक्षित गर्भपतन गराउने भएपनि ढोंगी समाजबाट बच्नका लागि उनीहरु असुरक्षित गर्भपतन गराउन अभिसप्त रहेको उनको भनाई छ । जो कसैलाई शरिरको माया हुन्छ,उनले भनिन्,‘तर समाजले लगाउने लाञ्छनाबाट बच्नका लागि भएपनि उनीहरु असुरक्षित गर्भपतन गराउन बाध्य छन् ।’

स्वयम् असुरक्षित गर्भपतन गराउनेहरुपनि यो कुरा स्वीकार्छन् । असुरक्षित छ भन्ने जान्दाजान्दैपनि आफूहरु त्यस्तै क्लिनिकमा गएर गर्भपतन गराउनु आफूहरुको बाध्यता रहेको उनीहरुको भनाई छ । यसको मुख्य कारण भोलि समाजमा थाहा भएर बदनाम हुने र लाञ्छना लाग्ने डर भएको रेखा जिसी (नाम परिवर्तन)ले बताईन् । उनले भनिन्,‘सुरक्षित त छ नै, सँगै सर्वसुलभ र गोप्यपनि छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।’

सामाजिक अभियन्ता सिलवालपनि गोपनियताको हक व्यक्तिको अधिकार भएकाले त्यसको ज्ञारेन्टी हुने वातावरण राज्यले बनाउनुपर्ने बताउँछिन् । ‘समाज नै लाञ्छना लगाउन उद्यत रहेसम्म सुरक्षित गर्भपतनको ज्ञारेन्टी हुँदैन । त्यसका लागि गोपनियता मुख्य कुरा हो’–उनले भनिन् । साथै सचेतनापनि आवश्यक रहेको उनको भनाई छ ।

जानेर होस् वा नजानेर असुरक्षित गर्भपतन गराउनु गैरकानूनी हो । त्यतिमात्र होईन यसरी असुरक्षित गर्भपतन गराउँदा गर्भवती महिलाको ज्यानसमेत जानसक्ने भएकाले असुरक्षित गर्भपतन गराउन नहुने स्वास्थ्यविद् नवराज भट्टराई बताउँछन् । उनी भन्छन्,‘ज्यानको जोखिम हुनेगरी गर्भपतन गराउनु हुँदैन भनेर सचेतना जगाउनुपर्छ । र यो अवैध हो भन्नेपनि बुझाउनुपर्छ ।’

विश्वमा बार्षिक २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । असुरक्षित गर्भपतन गराउनेहरु अधिकांश बिकासोन्मुख देशको हुने गरेको बताईन्छ । हरेक वर्ष करीव ४४ हजार महिलाहरुको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ । कुल मातृ मृत्यूको ७.९ प्रतिशतदेखि १३ प्रतिसत सम्म असुरक्षित गर्भपतनका कारण मृत्यू हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

नेपालमा भने हरेक बर्ष करिव ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गर्दछन् र ती मध्ये ५८ प्रतिशत सरकारले मान्यता दिएको स्वास्थ्य संस्था भन्दा बाहिर गएर असुरक्षित गर्भपतन गर्ने गरेको बताईन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।