नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाई


     एभरेस्ट आवाज    
     असार ३२ गते २०८१ मा प्रकाशित




फाइल फोटो

असार ३१ काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिंदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् । साथै उनले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले आज प्रधानमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिनुका साथै पदभार ग्रहण गरिसकेका छन् ।

यसैगरी भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा डा आरजु राणा देउवालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत मन्त्री डा राणालाई बधाई दिँदै दुई देशबीच बहुपक्षीय साझेदारी बढाउन आफ्ना नेपाली समकक्षीसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री डा राणाले आजै पद तथा गोपनीयता सपथ लिई पदभार ग्रहण गरिसकेकि छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।