गण्डकीको आयोजना अवधारणा पत्र सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशको आयोजना अवधारणा पत्र सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आयोजना अवधारणा पत्र विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेका हुन् ।

अवधारणा पत्रमा गण्डकी प्रदेशका आयोजना बैंक प्रस्ताव गरिएको छ । जहाँ गण्डकीका ठूला आयोजनाहरु राखिएका छन् । जसका लागि लगानीको आंकलन, श्रोत, सम्भाव्यताबारे विस्तृत रुपमा प्रस्तुत गरिएको छ । आयोजना अवधारणा पत्र प्रस्तुत गर्दै योजना तथा पूर्वाधार विज्ञ समूहका टिम लिडर मनिराम सिंह महतले आयोजनाको सम्भाव्यतासँगै लगानीको आंकलन गरिएको बताए ।

आयोजना पत्र गण्डकीको विकासको आधार भएको बताउँदै उनले यो कार्यान्वयन गर्नसके प्रदेशको मुहार फेर्न मद्धत पुग्ने बताए । उनले भने,‘आयोजना बैंकमा रहेका आयोजनामा लगानी जुटाउनुपर्छ । त्यसका लागि स्थानिय, प्रदेश र संघबीच समन्वय र सहकार्य आवश्यक छ ।’ आयोजना बैंक भन्ने तर लगानी आफूलेपनि नगर्ने र लगानीका लागि वातावरणपनि नबनाउने हो भनेचाहिं यसको औचित्य नरहने उनको भनाई थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंक सफल बनाउनु सबैको दायित्व भएको बताए । अहिलेपनि पहुँचको भरमा योजना छनौट भइरहेकाले त्यसको अन्त्य जरुरी भएको उनको भनाई छ । पहुँचको भरमा योजना छनौट अहिलेपनि भइरहेको छ, चाहे त्यो स्थानिय तहको भन्नूस् वा प्रदेश र संघको भन्नूस्,उनले भने,‘आवश्यक्ता अनुसार गरौं भन्यो मान्दैनन् । कसैले भन्दैन भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाईदेऊ भनेर । बरु उसले पहिला मेरो घरको बाटो बनाईदेउ भन्छ, त्यसपछि गाउँजाने बाटो, वडा जाने बाटो र त्यसपछि अन्तिममा पालिका बाटो ।’ दीगो र समानुपातिक विकासका लागि सोंचाई परिवर्तन आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले संघले ५ करोडको सिलिङलाई ३ करोडमा झारेको तर हाल्नेबेला प्रदेशलेजस्तै ५ लाखका योजनापनि हालेको भन्दै व्यंग्यात्मक टिप्पणी गरे । त्यस्तै स्थानिय तहलाई १ करोडसम्मको सिलिङ तोकेपनि त्यसमा पुनरावलोकन गरेर ५० लाखसम्ममा झार्न सकिने बनाउनुपर्ने उनले बताए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णप्रसाद देवकोटाले आयोजना बैंक सफल बनाउन सके यसले प्रदेशको मुहार फेर्नसक्ने बताए । त्यसका लागि राजनीतिक नेतृत्वले ईच्छाशक्ति देखाउनुपर्नेमा उनले जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।