पर्यटन राजधानीमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित




साउन ६ पोखरा । पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ ।

समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।

प्रत्यक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उनले उक्त दिन सार्वजनिक विदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताए ।

एक समारोहका बीच आज सरसफाई अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ग्रिन सिटी, क्लिन सिटी बनाउने कार्यमा यो अभियान महत्वपूर्ण बन्ने बताए । यस अभियानले पोखरालाई सफा बनाउने कुरामा जनचेतना अभिबृद्धि समेत गर्ने उनले विश्वास व्यक्त गरे ।

कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राष्ट्रसेवक कर्मचारीहरू समाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा जोडिने बताए । प्रत्येक महिनाको एक दिन यस अभियान अन्तर्गत पोखरा क्षेत्रका कुनै न कुनै सम्पदा सरसफाई गरिने उल्लेख गर्दै उनले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

पोखराको फेवातालस्थित बाराही घाटबाट सुरु गरिएको सरसफाई अभियान फेवातालको किनारा क्षेत्रमा केन्द्रित गरिएको थियो । सरसफाईमा तीनवटै सुरक्षा निकाय, पोखरा महानगरपालिका, राष्ट्रसेवक कर्मचारी, नागरिक अभियन्ता, स्थानीय पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।