बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८१ मा प्रकाशित




साउन ८ हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकर दाबी पेस गर्न आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । भोलि नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकोे कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।