विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित




साउन ९ काठमाण्डौं । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ ।

रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको हो ।

“दुर्घटनाको प्रभावकारी छानबिनगरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ”, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस दुःखद् घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ ।”

यस्तै उपचाररत विमानका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

पार्टी सभापति रवि लामिछानेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाले मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारप्रति समवेदना अर्पण गरेका छन् ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा आज सौर्य एयरको ९ एनएएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।