गोरखा अजिरकोटका विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित




गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पु¥याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडि बढाएको हो”, उनले भने, “यसबाट पालिकाभित्रका करिब ६ सय दलित तथा विपन्न घरपरिवार लाभान्वित हुनेछन् ।”

स्वास्थ्य बीमा गराउन सबै वडामा एक–एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ । गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केही दिनभित्रै कार्यक्रम सुरु हुने उनको भनाइ छ ।

गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैँले बीमाबापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न पालिकाले निःशुल्क बीमा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निःशुल्क बीमा कार्यक्रमको थालनी गरेको अध्यक्ष देवकोटाले बताए ।

“आफँैले बीमा गर्न नसक्ने अवस्थामा रहेका सबै विपन्न तथा दलित घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ”, उनले भने, “यो कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएपछि आर्थिक अवस्था कमजोर भएका अजिरकोट गाउँपालिकाभित्रका कोही पनि दलित तथा विपन्न समुदायका नागरिकहरु अब स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनुपर्ने छैन ।”

गाउँपालिकाले निःशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार पनि खुसी भएका छन् । विपन्न एवं दलित घरपरिवारलाई स्वास्थ्य निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन गाउँपालिकाले मुटु फाउन्डेसनसँग पनि सहकार्य गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।