राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन, चल्न थाले सार्वजनिक सवारी साधन


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित




पोखरा, साउन १३

गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धि अध्ययन गर्न कार्यदल गठन भएको छ । आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच आइतबार राइड सेयरिङ अर्थात नीजि सवारी साधन रातो प्लेटका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा यात्रु ओसारपसार गर्नका लागि बुझाइएको ज्ञापन पत्रबारे अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

कार्यदल गठन भएसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा यातायात व्यवसायीले गरेको आन्दोलनपनि स्थगित भएको छ । यातायात व्यवसायीले राइड सेयरिङलाई मान्यता दिएर सञ्चालन गर्न नदिन माग गर्दै आइतबारदेखि अनिश्चितकालीन सवारी साधन नचलाउने घोषणा गरेका थिए । आन्दोलनको पहिलो दिन आइतबार यातायात व्यवसायीहरुले आफ्ना सवारी साधन घरघरमै थन्क्याएका थिए । जसका कारण आइतबार दिनभर सडकमा लामा तथा छोटा दुरिका बस, माईक्रो बस, ट्याक्सीलगायतका सवारी साधन चलेनन् । जसले गर्दा यात्रुहरुले शास्ती भोग्नु प¥यो । नीजि सवारी साधन चल्न पाउने भएपनि सार्वजनिक सवारी साधन नचल्दा यात्रुले शास्ती भोग्नु परेको हो ।

व्यवसायीले सवारी साधन घरमा थन्क्याएर नचलाउने तर अन्यलाई अवरोध नगर्ने भनेपनि पर्यटक बसमा यात्रु ओसारपसार गरेको भन्दै रोक्ने, हुलहुज्जत गरेर दुब्र्यबहार गर्नेगरेका थिए । सो क्रममा रिपोर्टिङ गर्न गएका पत्रकारहरु सुरज थापालाई कुटपीट र बिनाकुमारी थापालाई दुव्र्यवहारसमेत गरेका थिए । पत्रकारमाथि भएको कुटपीट र दुव्र्यवहारको नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाउँदै दोषीमाथि कारवाही र निर्वाध रुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् । यसैबीच, प्रहरीले पत्रकारमाथि कुटपीट र दुव्र्यवहार गर्ने ५ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

व्यवसायीका राईड सेयरिङलाई वैधानिकता दिने निर्णय खारेज गर्नुपर्ने, सडक सुरक्षा योजना लागु गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका माग छन् ।

व्यवसायीले आन्दोलनसँगै वार्तालाईपनि अगाडि बढाउने क्रममा विहान कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापा र दिउँसो गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतसँग गरेर दुई पटक वार्ता गरेका थिए । विहानको वार्तामा सैद्धान्तिक सहमति र दिउँसोको वार्तामा कार्यदल गठनसँगै राइड सेयरिङ सम्बन्धि कार्यविधी तत्काललाई अगाडि नबढाउने, यातायात व्यवसायीको आन्दोलनपनि स्थगित गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेश अध्यक्ष केदार पौडेलले जानकारी दिए । ‘कार्यदलले १५ दिन भित्रमा प्रतिवेदन बनाएर पेश गर्ने निर्णय भएको छ । साथै राइड सेयरिङ सम्बन्धि कार्यविधी तत्काललाई अघि नबढाउने र हाम्रो आन्दोलनपनि स्थगित गर्ने निर्णय भएको छ’–उनले भने । तर निर्णयमा कार्यविधी अगाडि नबढाउने विषय भने समावेश छैन । भद्र सहमतिमात्रै भएकाले निर्णयमा नलेखिएको उनको दाबी छ ।

कार्यदलमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अधिकृत, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशका प्रतिनिधि, राइडर्स नेपाल पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरहरुको तर्फबाट एक जना प्रतिनिधि र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रतिनिधि सदस्यका रुपमा रहेका पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । उनले सहमति भएसँगै आइतबार अपराह्नबाट सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याईसकेको बताए । ‘हामीले सहमति अनुसार सवारी साधन सञ्चालनमा ल्याइसकेका छौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।